काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सुरु हुँदैछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ । उद्घाटन समारोहमा नेपालको एकता र सांस्कृतिक विविधता झल्काउने २०० भन्दा बढी झाँकी प्रदर्शन गरिनेछ ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । विभिन्न देशका कूटनीतिक नियोग र राजनीतिक दलका प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ ।
महाधिवेशन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न २४ जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा परिचालन गरिनेछ । साथै १० हजार तालिमप्राप्त स्वयंसेवक खटाइने तयारी गरिएको छ ।
उद्घाटन समारोहका लागि चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखी भव्य मञ्च निर्माण गरिएको छ । मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुई एलईडी स्क्रिन र ११५ वटा साउन्ड सिस्टम जडान गरिएको छ । नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ ।
महाधिवेशन उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत विद्युतीय पालो बालेर गर्ने कार्यक्रम छ । ११औँ महाधिवेशनका अवसरमा ११ वटा झन्डा राखिने छन्, जसमा एउटा झन्डा रिमोटबाट फहराइनेछ ।
सहभागी सवारीसाधनका लागि गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटनअघि गट्ठाघर र जगातीबाट र्यालीसहित महाधिवेशन स्थल प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया