काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार आफ्नो परिचालन नीति तर्जुमा गरेको छ ।
सशस्त्र प्रहरीले तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न स्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्ने बताएको छ ।
सशस्त्र प्रहरीले आज मुख्यालयमा पत्रकार सम्मेलन गरी १७ बुँदे निर्वाचन परिचालन नीति पनि सार्वजनिक गरेको छ ।
१. सबै निर्वाचन क्षेत्रहरूमा (अति संवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल तोकिएको जिम्मेवारीमा परिचालन गर्ने
२. निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षानिकायसंग समन्वयात्मकरुपमा परिचालन गर्ने
३. निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनु पूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने
४. निर्वाचन सुरक्षा सम्बन्धित विषयवस्तुहरूमा सुपरिवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल गठन गर्ने, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल गठन गर्ने साथै जिल्लाका अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण/गुल्ममा क्रमशः गण/गुल्म निर्वाचन सेल गठन गर्ने
५. निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोबाइल, स्ट्राइकिङ क्यूआरटी/रिजर्भ, निर्वाचनक्षेत्र सुरक्षा, सुरक्षा बेस, कमान्ड पोस्ट र जेइओसी, कार्यालय सुरक्षा/स्ट्याण्डवाई, जिल्ला स्थित निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षा लगायतका क्षेत्रमा आवश्यक बन्दोवस्तीसहित परिचालन गर्ने
६. निर्वाचन क्षेत्रहरूको भौगोलिक अवस्था तथा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मोबाइल र स्ट्राइकिङ टोली परिचालन गर्ने
७. निर्वाचनविरोधी गतिविधि नियन्त्रण एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूचना आदान प्रदानलगायत परिचालनमा आवश्यकता अनुसार समन्वयात्मक रूपमा गर्ने
८. समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रूपमा परिचालन गर्ने
९. निर्वाचन आचारसंहिता पालना गराउने तर्फ सहयोगी भूमिका निर्वाह गर्ने
१०. निर्वाचन क्षेत्र सहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरू अंकित गरी प्रभावकारी बनाई परिचालन गर्ने
११. आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधि हुन नदिन सूचना संकलन तथा योजनाबद्ध डङ्गबाट परिचालन गर्ने
१२. निर्वाचनको दिन सशस्त्र प्रहरी बल नेपाल नं १९ गण हे.क्वा. (विशेष कार्यदल गण) र सशस्त्र प्रहरी बल, नेपाल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण) का क्यूआरटी टोलीलाई तत्काल हेली लिफ्ट गर्न सक्ने गरी सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण )मा तैनाथ राख्ने
१३. क्यूआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एक दिन अघि देखि निर्वाचनको एक दिनपछि सम्म हातहतियार तथा असवावका साधनहरू साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरूमा सवारी साधन सहित परिचालन गर्ने
१४. सशस्त्र प्रहरी बल, नेपालको कार्यालय रहेको जिल्लाको हकमा सो जिल्लाको अप्रेसनल कमान्डको जिम्मेवारी प्राप्त कार्यालय प्रमुखले सम्बन्धित जिल्लाको ओभरअल कमान्ड गर्ने र निजले जिल्ला कमान्ड पोस्ट र अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय राखी निर्वाचन सुरक्षार्थ परिचालित टोलीलाई समन्वयात्मक ढंगमा परिचालन गर्ने
१५. निर्वाचन सुरक्षार्थ परिचालन हुने साथै क्यूआरटीमा रहने प्रत्येक टोलीलाई सवारी साधन तथा सञ्चार साधन सहित तैनाथ गर्ने, सडक सञ्जाल नभएको निर्वाचन क्षेत्रहरूको हकमा सम्बन्धित युनिटबाट माग भए पश्चात् आवश्यकता अनुसार वैकल्पिक यातायातको साधन व्यवस्था गर्ने,
१६. आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित निर्वाचनको १ महिना अगाडिदेखि निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने, स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिन अगाडिदेखि आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधन सहित परिचालन गर्ने
१७. माथि उल्लेखित नीति अनुरूप परिचालन गर्न भौगोलिक विकटता, बन्दोबस्ती, यातायात र ढुवानीको समस्याका साथै स्थानीय आवश्यकताको कारणले कठिनाइ भएमा बाहिनी मुख्यालयहरूले प्रदेश सुरक्षा समन्वय समितिसँग आवश्यक समन्वय गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलले योजना बनाई केन्द्रीय निर्वाचन सेलको स्वीकृतिमा फेरबदल गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया