नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् : सञ्चारमन्त्री खरेल

लोकपथ
70
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी  गरेका छन् । 

शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए । उनले राजनीतिलाई नीतिहरूको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरूको उपस्थिति अनिवार्य रहेको बताए । राजनीतिक दलहरूलाई युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभई सुख नरहेको जिकिर गरे । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको टिप्पणी गरे ।  

उनले भने, ‘नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुनेवाला छ । जबरजस्त उपस्थिति हुनेवाला छ । कसैले रोकेर रोकिँदैन । पार्टीभित्र र नयाँ पार्टीभित्र । यदि नीतिहरूको राजा राजनीति मान्ने हो भने अब हरेक राजनीतिक पार्टीहरूले स्पष्ट रूपमा समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्नुपर्छ । युवाहरूलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभई सुखै छैन । रहरले त किन दिन्थे र दिए र ? घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने, यो त देखिराखिएको छ त फेहरिस्त । अहिले दिन्छु दिन्छु भनेर मन फुकाएर दिएको होइन नि । बाध्यता हो । नदिकन सुखै छैन, दिनुपर्छ ।’

मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?