अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम

लोकपथ
119
Shares

चितवन । अण्डाको लागत मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयको विज्ञ समिति गठन गरी गरेको अध्ययनअनुसार हाल प्रतिगोटा अण्डाको लागत मूल्य १९.१२ रुपैयाँ पुगेको छ । यसअघि यो मूल्य १६.५६ रुपैयाँ थियो ।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त दाहालका अनुसार १० हजार लेयर्स कुखुरा पालन गर्दा उत्पादन हुने अण्डाको सम्पूर्ण खर्च विश्लेषण गरी मूल्य निर्धारण गरिएको हो ।

उक्त खर्चमा चल्ला, दाना, औषधि, भेक्सिन, मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, खोर मर्मत, ढुवानी खर्च, ह्रासकट्टी र बैंक व्याज समावेश गरिएको छ । कुल खर्च जोड्दा १० हजार कुखुराबाट अण्डा उत्पादन गर्दा चार करोड ९८ लाख ५९ हजार रुपैयाँ खर्च आउँछ ।

डा.दाहालका अनुसार पालिएका कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बिक्रीमा नोक्सानी हुने लगायतका पक्षलाई ध्यानमा राखेर लागत मूल्य निकालिएको हो ।

समितिले प्रतिवेदनमा अण्डा उत्पादनका विभिन्न खर्चहरूको विस्तृत विवरण प्रस्तुत गर्दै अण्डाको प्रतिगोटा उत्पादन लागत १९.१२ रुपैयाँ कायम भएको जनाएको छ । यस मूल्यलाई जिल्ला पशु सेवा कार्यालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुमोदनका लागि पठाउने निर्णय पनि भएको छ ।

विज्ञ समितिमा प्राडा रेवन्तकुमार भट्टराई, प्राडा सुविर सिंह, सहप्राध्यापक डा.अनिलकुमार तिवारी र सदस्यसचिव डा. अनन्त दाहाल रहेका थिए । समितिको प्रतिवेदनमाथि सरोकारवालासँग अन्तर्क्रिया समेत सम्पन्न भएको थियो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले यस अध्ययन अनुसार लागत मूल्यलाई समर्थन गरिएको र अनुमोदनका लागि आवश्यक कदम चालिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?