मुस्ताङ । मुस्ताङको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।
किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए । पछिल्लो समय मानव र हिउँ चितुवा बिचको द्धन्द बढ्दै जान थालेको छ । हिउँद याममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन् ।
हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पुर्याउने गरेको पाइएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ । यसैका कारण जिल्लाका कतिपय किसानहरू पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया