उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक, छैन नेपाली डकुमेन्ट !

लोकपथ
406
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लगायत उच्च पदस्थ व्यक्तिहरुलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई प्रहरीले पक्राउको तयारी गरेको छ ।

केही दिनअघि पाठकले सामाजिक सञ्जालबाट प्रेम राईसहितका व्यक्तिहरुको हत्या गर्ने भन्दै अभिव्यक्ति सार्वजनिक गरेसँगै सुरक्षा निकाय चनाखो बनिरहेको छ ।

पाठकले निरन्तर सामाजिक सञ्जालबाट धम्की दिँदै आइरहेका छन् ।

पाठकले बिहीबार दिउँसो आफू फिलिपिन्समा रहेको र आफूलाई पक्राउ गर्न प्रहरीले खोजिरहेको खुलासा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पाठकले आफू एक मलमा बसिरहेको बेला त्यहाँ प्रहरी आएको र आफू सुरक्षा गार्डको कारण भाग्न सफल भएको बताएका छन् ।

आफूलाई ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) को प्रमुख बताउने पाठकले आफूसँग कुनै पनि नेपाली डकुमेन्ट समेत नभएको खुलासा गरेका छन् । आफूसँग भारतको आधार कार्ड, पासपोर्ट लगायतका डकुमेन्टहरु रहेको बताए । साथै आफू त्यहाँ केही समयदेखि गैरकानुनी रुपमा बसिरहेको बताउँदै उनले आफूलाई पक्राउ गरिए पनि तत्काल देश निकाला नगरिने समेत दाबी गरे । साथै आफूलाई देश निकाला गरिए पनि भारतमा पठाइने उनको दाबी छ । आफूसँग नेपाली नागरिकता, पासपोर्ट लगायतका डकुमेन्ट नै नभएको भन्दै आफू पक्राउ परे पनि नेपाल जान नपर्ने दाबी गरेका छन् ।

साथै आफू पक्राउ परे पनि आफ्नो सम्बन्ध भारतका कुख्यात अपराधीसँग रहेको भन्दै जेलभित्रबाटै मार्ने धम्की दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?