भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

लोकपथ
336
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । मुद्दा दायर भएका अन्य चार जना भिजिट भिसा तस्करीमा बिचौलिया लगायतको भूमिकामा काम गरेकाहरू छन् ।

भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो । सहसचिव भट्टराई २०८२ साल जेठ ७ गते विमानस्थलबाटै पक्राउ परेका थिए । उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए  ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो ।

घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए । यो घटनामा तत्कालीन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाललगायतका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।

प्रहरीको अनुसन्धानका आधारमा २०८० साल माघ १० गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । तर एक वर्षपछि २०८१ साल मंसिर १४ गते काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?