काठमाडौं । अमेरिकाले अब आर्थिक स्रोत बलियो भएका धनी व्यक्तिलाई सजिलै भिसा दिने भएको छ । कम्तीमा १० लाख डलर तिर्न सक्ने धनी विदेशीहरूलाई ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट अमेरिकाको सजिलै भिसा दिने योजना सुरु गरेको हो । यो भिसा त्यस्ता व्यक्तिलाई दिइन्छ, जसले अमेरिकालाई ‘महत्वपूर्ण लाभ’ पुर्याउन मद्दत गर्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘गोल्ड कार्ड’ योजना भनेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्, ‘यो कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिहरूलाई नागरिकता पाउन प्रत्यक्ष बाटो दिन्छ ।’
पछिल्ला दिनमा अमेरिकाले आफ्नो अध्यागमन नीतिमा कडाइ मात्रै गरेको छैन, कामदारको भिसा शुल्कसमेत बढाइरहेको छ । साथै कागजातविहीन आप्रवासीलाई देश निकालासमेत गरिरहेको अवस्था छ । यस्तो बेला यो ‘गोल्ड कार्ड’ योजना अघि सारिएको छ ।
गोल्ड कार्ड योजनाले ‘रेकर्ड समय’ मै अमेरिकी बसोबासको प्रबन्ध गर्ने प्रतिज्ञा पनि गरेको छ ।
गोल्ड कार्ड योजनाअन्तर्गत आफ्ना कर्मचारीलाई स्पोन्सरसमेत गर्न पाइन्छ । तर यसरी स्पोन्सर गर्ने व्यवसायीहरूले २० लाख डलर तिर्नुपर्नेछ । त्यसबाहेक थप शुल्क पनि लाग्नेछ ।
यस्तै, अमेरिकाले कर छुट दिने ’प्ल्याटिनम’ संस्करण पनि चाँडै उपलब्ध हुने जनाइएको छ । यसका लागि ५० लाख डलर तिर्नुपर्नेछ।
गोल्ड कार्ड योजना गतवर्षको फेब्रुअरीमै घोषणा गरिएको थियो । ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भई जिम्मेवारी बहन गरेको केही समयमै यो योजना अघि सारिएको थियो । केही डेमोक्र्याट नेताहरू भने यो योजनाको विपक्षमा छन् । उनीहरूको तर्क छ, ‘यो योजनाले धनीहरूलाई मात्र फाइदा दिने छ ।’
ट्रम्पले पहिलो पटक योजना सार्वजनिक गर्दा यसलाई ’ग्रिन कार्ड’ जस्तै भएको बताएका थिए । ग्रिन कार्ड भनेको विभिन्न आयस्तरका आप्रवासीले अमेरिका बस्न र काम गर्न पाउने स्थायी अनुमति हो । ग्रिन कार्डधारीले पाँच वर्षपछि नागरिकताका लागि आवेदन दिन सक्छन् । गोल्ड कार्ड भने खासगरी ‘उच्च स्तरका’ पेसाकर्मीहरूका लागि लक्षित गरिएको छ । ट्रम्पले भनेका छन्, ‘जसले ५० लाख डलर तिर्छ, उनीहरूले रोजगारी सिर्जना गर्छन्। यसले अमेरिकालाई लाभ हुन्छ ।’
पछिल्ला दिनमा अमेरिकाले १९ देशका व्यक्तिको अध्यागमन आवेदन रोकेको अवस्था छ । तीमध्ये धेरै अफ्रिका र मध्यपूर्वका देश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया