काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्डको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै, बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी), काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ ।
सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३र७४ मा ठेक्का सम्झौता गरिएको उक्त सडक खण्ड करिब २० किलोमिटर लामो छ, जसमा हाल ५ किलोमिटर मात्रै कालोपत्रे बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशतमा पुगेको छ ।
योजना कार्यालय धनगढीका अनुसार, पटक–पटक चेतावनी दिए पनि निर्माण व्यवसायीले काम नगरेको, प्रतिबद्धता अनुसार काम पूरा नगरेको र साइट ठप्प बनाएको कारण ठेक्का रद्द गरिएको हो । ठेक्का सम्झौता रद्द भएपछि निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ ।
यसअघि, गत १४ कात्तिकमा निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको थियो । तर पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नहुँदा सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको योजना कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया