काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ का लागि बोनस दर घोषणा गरेको हो । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१–८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेख अन्तर्गत नयाँ बोनस दर लागू हुने छ ।
विषम आर्थिक परिस्थितिकाबिच पनि नेपाल लाइफले आफ्नो बोनस दरलाई स्थिर राख्न सफल दाबी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे ।
कम्पनीले लिएका रणनैतिक निर्णयहरुका कारणनै बोनस दरलाई स्थिर राख्न सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया