मानवअधिकारको विषयलाई राजनीतिबाट अलग राख्नुपर्छ : प्रधानन्यायाधीश राउत

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको बताउँदै उनले उनले मानवअधिकारमा राजनीति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गरे ।

राजनीतिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उनले जोड दिए ।

मानवअधिकार न्यायसँग जोडिएको विषय भएकाले पनि बढी संवेदनशील हुने उनको भनाई छ ।

उनले भने, ‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ । त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथी उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ । विषाक्त राजनितिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई तपाईहरुले अलग्याउनुपर्छ । मानव अधिकारको कुरा बढी संवेदनशील किन हुन पुगेको छ भने यो विषय जष्टिस र लिवर्टीसँग पनि जोडिएकोले यो विषय संवेदनशील मात्रै हुन्छ ।’

उनले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एशोसिएशन सबै जलाईएको उल्लेख गरे ।

आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पति दुबै जलेको उनको भनाई छ ।

अदालत, अदालतमा भएका हजारौँ मुद्दाका मिसिलहरु जलाईएपनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उनले बताए ।

नेपाल बार एशोसिएशनको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा देशभरका कानून व्यवसायीहरुको उपस्थिति रहेको छ । बिहीबारसम्म चल्ने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?