यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछ : राजेन्द्र लिङदेन

लोकपथ
35
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतामा पुर्‍याउने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा अध्यक्ष लिङदेनले संविधान असफल भइसकेको र हालको निर्वाचन प्रणालीमा निर्वाचन गर्दा देश संकटमा फस्ने बताए । उनले यथास्थितिमा हुने निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम नभएको स्पष्ट पारे ।

उनले नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै भने, जनताको बिचमा जान नसक्ने अवस्था भएपछि नाम नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । लिङदेनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको पनि उल्लेख गरे ।

उनले भने, ‘असफल भइसकेको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ। त्यसले मुलुकलाई समाधान दिने होइन, थप जटिलताहरू सिर्जना गर्ने मात्र छ ।’

अध्यक्ष लिङदेनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनेरेसनबिच समझदारी गरेर अघि बढ्नुपर्ने अडान दोहोर्‍याए ।

राप्रपाका अनुसार, पार्टीको हालको बैठक ऐतिहासिक र महत्त्वपूर्ण रहेको छ, जसले जनताको आशाको केन्द्र र समर्थनको पार्टीको रूपमा आफूलाई स्थापित गर्न महत्त्व राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?