जेनजीको भावना बुझ्ने ‘रामनाथ’ : नैतिकता देखाउँदै राजीनामा दिए, आगामी चुनाव समेत नलड्ने

लोकपथ
924
Shares

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलन हुँदा तत्कालीन सरकारको कृषिमन्त्री थिए रामनाथ अधिकारी ।

भदौ २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चरम दमन गरेपछि त्यसमा आपत्ति जनाउँदै राजीनामा दिने मन्त्रिपरिषद्को पहिला सदस्य समेत हुन् उनी ।

उनले आफूलाई अपराध बोध भएको भन्दै भदौ २४ गते बिहानै राजीनामा दिए । त्यसपछि मात्रै अन्य मन्त्रीहरुले राजीनामा दिए र अन्तिममा मात्रै प्रधानमन्त्रीका रुपमा ओलीले राजीनामा दिएर बालुवाटार छाडेर भागे ।

‘स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु,’ उनले भनेका थिए ।

खासगरी जेनजी आन्दोलनपछि हरेक राजनीतिक दलमा पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेको छ । बहस एकातिर चलिरहँदा पनि पुस्तान्तरणका लागि भने कोही नेता तयार देखिएका छैनन् । अझै आफैँ सत्ताका लागि मरिहत्य गरिरहँदा त्यसको अपवाद बनेका छन् उनै रामनाथ ।

जेनजीको भावना अनुसार बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ का लागि निर्वाचनको मिति तोकेको छ । सबै राजनीतिक दल त्यसको तयारीमा जुटिरहेका छन् । कांग्रेसले धमाधम देशभरका निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकका तर्फबाट उम्मेदवार सिफारिस गरिरहेको छ । जिल्ला समिति र क्षेत्रीय समितिमार्फत् हुने सिफारिसका लागि नेताहरु मरिहत्य गरिरहँदा रामनाथले भने आगामी संसदीय निर्वाचनमा आफू प्रतिष्पर्धा नगर्ने घोषणा गरेका छन् ।

सादगी नेताका रुपमा समेत परिचित रामनाथ नेपाली कांग्रेस धादिङको सभापति समेत हुन् । मंगलबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउन संयुक्त बैठक बस्यो । सो बैठकमा उनले जेनजीको भावना अनुसार आफू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरे ।

जेनजी आन्दोलनपछि रुपान्तरणको बहस सबैले गरे पनि रुपान्तरणका लागि त्याग गर्न कोही नरहेको भन्दै आफू अघि सरेको बताउँछन् ।

किन आगामी निर्वाचन नै नलड्ने घोषणा गर्नुभयो भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘खासगरी जेनजी आन्दोलनपछि मैले तत्कालीन अवस्थामा कृषि मन्त्रीबाट राजीनामा दिएँ । त्यसको ४ घण्टापछि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुले राजीनामा दिनुपर्ने अवस्था आयो । जेनजी आन्दोलनपछि पुस्तान्तरण र रुपान्तरणको बहस चाँही चलाउने तर पुस्तान्तरणका लागि चाँही कोही तयार नहुने ? त्यही भएर नै मैले आगामी संसदीय निर्वाचनमा आफू भाग नलिने अरु उम्मेदवारलाई जिताउन लाग्ने निर्णय गरेको हुँ ।’

जेनजीहरुले राजनीतिक दल नै नचाहिने नभनेको बरु दलभित्रको खराब प्रवृत्तिलाई अन्त्य गर्न माग गरेको उनको बुझाइ छ । जेनजीले भनेजस्तो पुस्तान्तरणका लागि कोही तयार नभएपछि आफैँ अघि सरेको उनले बताए ।

‘जेनजीहरुले राजनीतिक दल चाहिँदैनन् भनेका होइनन् नि, उनीहरुले दलभित्र पनि पुस्तान्तरण हुनुपर्‍यो भनेका हुन् । त्यही भएर मैले अब आफैँबाट सुरु गरेर जेनजीको भावना अनुसार आगामी संसदीय निर्वाचनमा भाग नलिने बरु अरुलाई नै जिताउन लाग्ने निर्णय गरेँ,’ उनले भने ।

फागुन २१ को संसदीय निर्वाचनमा भाग नलिने घोषणा गरे पनि आगामी दिन संसदीय राजनीतिमा नै भाग नलिने निर्णय भने आफूले नलिएको समेत स्पष्ट पारे । फागुन २१ को निर्वाचन जेनजीहरुको भावना मुताबिक बनेको सरकारले घोषणा गरेको बताउँदै जेनजीहरुकै भावना अनुसार नयाँ पुस्ता अघि आउनुपर्ने उनको जोड छ । आगामी संसदीय निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टीको राजनीतिमा भने निरन्तर सक्रिय रहने उनको तयारी छ । कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्ने तयारीमा रहेको उनी बताउँछन् ।

संसदीय निर्वाचन मात्रै कि पार्टी राजनीतिमा पनि तपाईँ पुस्तान्तरण भन्दै भाग लिनुहुन्न ? भन्ने लोकपथको प्रश्नमा उनले आफू पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्ने रहर अझै नमरेको र रहर मात्र नभएर जोश पनि उत्तिकै रहेको दाबी छ ।

‘संसदीय राजनीति र पार्टी राजनीति फरक कुरा हो । म संसदीय राजनीतिमा जेनजीको भावना अनुसार यो निर्वाचनमा भाग नलिने निर्णय गरे पनि पार्टीको राजनीतिमा भने निरन्तर रहन्छु नि । रहर मात्रै होइन, राजनीतिका लागि जोश र सक्रियता पनि उत्तिकै छ नि,’ अधिकारीले लोकपथसँग भने ।

दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा दुवै क्षेत्रका लागि दर्जन बढी आकांक्षीहरु रहेका छन् । रामनाथ गत निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । आगामी निर्वाचनमा रामनाथले नलड्ने घोषणा गरेसँगै उनका समकक्षीहरुलाई समेत दबाब परेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?