काठमाडौं । इलाम क्षेत्र नं १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुनेहरुमा युवा नेता प्रदेश सभा क्षेत्रीय सभापति निस्कल राई, पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्य टिकाराम सुब्बा, जिल्ला सभापति डम्बरबहादुर खड्का, पूर्व राज्यमन्त्री वेनुप राज प्रसाई, पूर्व प्रतिनिधि सभा उम्मेदवार भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरिप्रसाद लुइँटेल, पूर्व प्रतिनिधि सभा उम्मेदवार भेषराज आचार्य र क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी रहेका छन् ।
फागुन २१ को निर्वाचनका लागि मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा ९ जनाको नाम सिफारिस गरेको हो ।
कसको पृष्ठभूमी कस्तो ?
सिफारिस भएकामध्ये जिल्ला सभापति खड्का पटकपटक सो क्षेत्रबाट पराजित भएका पात्र हुन् । खड्काले यसअघि इलाम क्षेत्र नं २ बाट प्रदेश सभा चुनावका साथै क्षेत्र नं २ मा नै २०७९ मा सुवास नेम्वाङ र २०८१ मा भएको उप–निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसँग पराजित भएका थिए ।
यता सिफारिसमा परेका अर्का नेता भेषराज आचार्य पनि सोही क्षेत्रबाट २०७४ स्वर्गीय सुवास नेम्वाङसँग प्रतिनिधि सभामा पराजय भोगेका थिए । त्यस्तै पार्टीको १२औँ, १३औँ र १४औँ अधिवेशनमा जिल्ला सभापति पराजित भएका पात्र हुन् । यद्यपि उनलाई जिल्लामा उनलाई शालिन नेताका रुपमा चिनिन्छ ।
यता पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापा तत्कालिन इलाम क्षेत्र नं ३ बाट प्रतिनिधि सभा तथा संविधान सभामा जित हासिल गरेका व्यक्ति हुन् । यद्यपि पछिल्लो समय उनको राजनीतिक सक्रियता तथा प्रभाव जिल्लामा कम देखिने गरेको त्यहाँका नेताहरुले बताउने गरेका छन् ।
त्यस्तै २०५६ को आम निर्वाचनमा क्षेत्र नं १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गराएका पूर्व राज्यमन्त्री वेनुप राज प्रसाई संविधान सभाको पहिलो निर्वाचनमा झलनाथ खनालसँग पराजित भएका थिए ।
यता टिकाराम सुब्बा समानुपातिक तर्फका पहिलो संविधान सभाको सदस्य हुन् भने भुपेन्द्र कट्टेल यहि क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा चुनावमा खनालसँग १७००० बढी मतान्तरले पराजित भएका उम्मेदवार हुन् । साथै सिफारिसमा परेका पूर्व शिक्षक हरि प्रसाद लुइँटेल पार्टीको महाधिवेशन प्रतिनिधि हुन् ।
त्यस्तै युवाको तर्फबाट प्रतिनिधित्व गर्ने निष्कल राई हाल प्रदेश सभा १ –ख) का सभापति हुन् । पूर्व क्षेत्रीय सहसचिव समेत रहेका राई नेपाल विद्यार्थी संघमा लामो समयसम्म काम गरेका वौद्धिक व्यक्ति मानिन्छन् । काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसका पूर्व लेक्चरर समेत रहेका राईले छोटो समयमा नै जिल्लाको राजनीतिमा प्रभाव जमाउन सफल देखिएको त्यहाँका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् । युवा क्षेत्रिय प्रतिनिधि नगेन्द्र बुढाथोकी सुर्योदय नगरपालिकाका उपप्रमुखका हाल स्वकीय सचिव हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया