काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतको आदेशपछि पुनः प्राधिकरणमा बहाल भएका छन् । शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् ।
आज (बुधबार) प्राधिकरण पुगेर बहाल हुने क्रममा शाक्यले दुई अढाइ महिनासम्म भोगेको दुःखद् समयपछि अदालतबाट न्याय पाएर फर्किएको बताए । उनले अब आफ्ना कार्यक्रमहरू पहिला भन्दा बढी जोश र लगनशिलतासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले तत्कालीन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको शाक्यलाई सरुवा गर्ने निर्णयलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै अस्वीकार गरेको थियो । अदालतले शाक्यलाई तत्काल प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता पठाउन र सरुवा प्रक्रिया उल्टाउने आदेश दिएको थियो ।
शाक्यले भने, ‘अहिले विद्युत् प्राधिकरणको एमडी भएको नाताले भएकै कारणले जुन दुर्घटना मैले व्यहोर्नुपर्यो । अरू कुनै कारणले थिएन । अदालतबाट न्याय पाएर फर्किएर आफ्ना कार्यक्रममा अझ बढी जोश र लगनशिलतासाथ काम गर्नेछु ।’
उनले आगामी साढे तीन वर्षमा निश्चित लक्ष्य पूरा गर्ने गरी काम अघि बढाउने बताए। उनले उर्जामन्त्रीसँग मिलेर प्राधिकरणका आफ्ना आयोजना अघि बढाउने योजना पनि रहेको स्पष्ट पारे ।
शाक्य र घिसिङको विवाद लामो समयदेखि चलेको छ । घिसिङ स्वयं प्राधिकरणका पूर्वकार्यकारी निर्देशक थिए र भदौमा गठित प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि शाक्यलाई सरुवा गरिएको थियो । शाक्यले यो निर्णयलाई गैर कानुनी ठहर गर्दै सर्वोच्चमा उजुरी गरेका थिए ।
यस विवादले राजनीतिक हस्तक्षेप र प्रशासनिक विवादमा नयाँ अध्याय थपेको छ । जेनजी आन्दोलनका क्रममा शाक्यको घरमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया