लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की

लोकपथ
21
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनमा रहेको बताएकी छन् । 

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको दाबी गर्दै सबै पक्षलाई समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेकी छन् । साथै, निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउनेछ भनी जनाइन् ।

उनले सम्पूर्ण बालिग नेपालीको मताधिकार सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रूपमा भाग लिन आग्रह गर्दै निर्वाचनलाई सफल पारी मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न पनि अनुरोध गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई मानव अधिकारको सबैभन्दा ठुलो चुनौतीको रूपमा चिनाउँदै भनिन्, ‘भ्रष्टाचार केवल आर्थिक अनियमितता होइन, यसले विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो ।’ उनले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्म कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी, नयाँ पुस्ता (जेनजी) ले मानव अधिकारलाई कानुनी ग्रन्थमा मात्र सीमित नराखी व्यावहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत् उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण भएको उल्लेख गरिन् । 

उनले युवाहरूको डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न सरकार दृढताका साथ अघि बढ्ने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?