निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री र लोकतान्त्रिक मूल्यअनुकूल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग अनिवार्य रहेको बताएका छन् ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको आन्दोलनपछि विकसित राजनीतिक अवस्थालाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको उल्लेख गरे ।

उनले देशको वर्तमान परिस्थितिलाई सामान्य अवस्थामा ल्याउन सरकार, राजनीतिक दल, नागरिक समाज, युवा अभियन्ता र सर्वसाधारणले संयमित र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिका अनुसार मानव अधिकार जन्मसिद्ध हक भएकाले यसको सम्मान र संरक्षण राज्यको प्रमुख दायित्व हो । उनले नेपालको संविधानले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित स्वतन्त्रता, समानता र न्यायका सिद्धान्तलाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउने कार्यमा योगदान पुर्‍याएको बताए ।

नेपाल विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि–सम्झौताहरूको पक्ष राष्ट्र रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संघीय, प्रदेश र स्थानीय सरकारसँगै सामाजिक संघ–संस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्र सबै मिलेर कमजोर तथा जोखिममा रहेका समूहको हक–अधिकार सुनिश्चित गर्न थप काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मानव अधिकारको महत्त्वपूर्ण आधार भएकाले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन यी अधिकारको सुदृढीकरण अपरिहार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?