काठमाडौं । खराब ब्याटिङ गरेपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा फाइनल पुग्ने पहिलो टोली बन्ने अवसर गुमाएको छ ।
कीर्तिपुर भएको पहिलो क्वालिफायरमा खराब ब्याटिङ सामना गरेको विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो अन्तरले पराजित भएपछि फाइनलमा पुग्ने अवसर गुमाएको हो ।
यो जितसँगै सुदूरपश्चिमले लिगको अन्तिम खेलमा विराटनगरसँग बेहोरेको हारको बदला पनि लिएको छ ।
पछिल्लो खेलमा दुई नै प्रतिस्पर्धी थिए । उक्त खेल ६ विकेटले जितेपछि विराटनगर नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पार्दै लिगको दोस्रो स्थानमा पुगेको थियो । यसै सिजनको दोस्रो भेटमा भने सुदूरपश्चिम बाजी मार्यो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक ५६ रनको लक्ष्य दिएको थियो । तर, विराटनगर १४।१ ओभरमा ७८ रनमै अलआउट हुन पुग्यो । ओपनर फाप डुप्लेसिसले ३६ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
इनिङको पहिलो बलदेखि नै विकेट गुमाएको विराटनगर समालिन नै सकेन । पहिलो दुई ओभरमा नै विराटनगरका तीन ब्याटर आउट भए । इनिङको पहिलो बलमै ओपर साम हेजलेट शून्यमै आउट भए । ओभरको अन्तिम बलमा मार्टिन गप्टिल २ रनमा रनआउट हुन पुगे । दोस्रो ओभरको पहिलो बलमै विराटनगरले तेस्रो विकेट गुमायो । नरेन भट्ट खाता नखोल्दै पभेलियन फर्किए ।
यससँगै १–१ ओभरमा विराटनगर ३–३ को नाजुक अवस्थामा पुग्यो । तर, ओपनर ओपनर फाप डुप्लेसिस र बसिर अहमदले इनिङ समाल्ने प्रयास गरे । सातौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बसिरलाई १२ रनमा कट एन्ड बोल्ड गराए । फेरि विराटनगरले लगातार विकेट गुमाउन पुग्यो । लोकेश बम ५ र नारायण जोशी १ रनमा आउट भए ।
९।१ ओभरमा विराटनगर ५३–६ को नाजुक अवस्थामा पुग्यो । ११औं ओभरमा फाफ पनि पभेलियन फर्किए र विराटनगरको जित आशा कमजोर बन्यो । फापले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । हेमन्त धामीले शेल्डन ज्याक्सद्वारा फापलाई क्याच गराए । त्यसपछि आएका मार्चन्ड डे लाङ्गेले १५ रन जोडेर आउट भए । अन्य ब्याटर सस्तै पभेलियन फर्किएपछि सुदूरपश्चिमले फराकिलो जित निकाल्यो । प्रतीश जिसी र कप्तान सन्दीप लामिछाने समान ३ रनमा आउट भए । सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिन, हरमित सिंह र अविनाश बोहोराले समान दुई तथा हेमन्त र दीपेन्द्रले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल बनायो । ओपनर विनोद भण्डारीले ६३ रनको अर्धशतकीय इनिङ बनाए । सुस्त ब्याटिङ गरेको सुदूरपश्चिमले तेस्रो ओभरमै पहिलो विकेट गुमायो । ओपनर मुख्तर अहमद १० रनमा आउट भए । अर्को छेउबाट विनोदले इनिङ अगाडि बढाए ।
उनले दोस्रो विकेटका लागि शेल्डन ज्याक्सनसँग ४० रनको साझेदारी गरे । आठौं ओभरमा स्पिनर सूर्य तामाङले शेल्डनलाई २० रनमा विकेटकिपर लोकेश बमद्वारा क्याच गराए । मुख्तर र शेल्डनले एनपिएलमा पहिलो खेल खेलेका हुन् । तर, दुवैले राम्रो हुन सकेन । विनोदले तेस्रो विकेटको लागि पनि ईशान पाण्डेसँग ३१ रनको साझेदारी गरे ।
नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेपछि ईशान १३ रनमा पभेलियन फर्किए ।
१२.५ ओभरमा सुदूरपश्चिम ९२–३ को अवस्थामा थियो । त्यसपछि कप्तान दीपेन्द्र पनि ३ रनमा नै रनआउट भए । १४औं ओभर समाप्तीमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्यो । हरमित सिंह १४ रन र आरिफ शेख २० रन बनाएर आउट भए ।
आरिफले १३ बलमा दुई चौका र एक छक्का हिर्काए । प्रतीश जिसीले १७औं ओभरमा हरमित र १९औं ओभरमा विनोद भण्डारीको विकेट लिए । विराटनगरको बलिङमा प्रतीश र मर्चान्ड डे लाङ्गेले समान दुई तथा सूर्य र साम हेजलेटले समान एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया