काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने दाबी गरेका छन् ।
मंगलबार जेनजी शहीदहरुको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।
उनले जेनजी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए ।
सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ ।
उनले शहीदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको बताउँदै मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गरे ।
उनले भने, ‘सत्तामा बस्नेहरु कुशासनको अभियान्ता बनेको कारण जेनजी विद्रोह भएको हो । त्यसकारण शहीदको सपनाबमोजिम अब हामी सुशासनको अभियान्ता बन्नुपर्छ । अहिलेको सरकारमा बसेर हामी सुशासनको अभियान्ता बन्ने प्रयासमा रहेका छौं । यहाँहरुले पनि हाम्रा कमजोरीहरु देख्नुभयो भने औंल्याइदिनुहोला । हामी त्यसमा सुधार गर्छौं । धेरै कुराहरु सरकारले गरेको छ । ती निर्णयहरुको प्रत्याभुति हामी दिँदै जान्छौं । कारबाही गर्ने कुरामा दृढतापूर्वक हामी अगाडि बढ्छौं । यहाँहरुले खालि समयको हिसावले केही कुरा राख्नुभएको होला । हामी अझै व्यवस्थित रुपमा कारबाही गर्छौं । नेपालको राज्य प्रणालीभित्रबाट पनि कारबाही गर्छौं । र जो दोषि छन् त्यस्ता तत्वहरुलाई अन्तर्राष्ट्रिय रुपबाट पनि हामी घेराबन्दी गर्छौं । त्यसैको लागि अहिले जाँचबुझ आयोग बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि यसका लागि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसले पनि कारबाहीको सिफारिस गर्छ । भ्रष्टाचारको मामलामा अख्तियारले हामी सरकारमा आइसकेपछि काम गर्ने वातावरण पाएको छ । कति वटा मुद्दा दर्ता गर्यौं यहाँहरुले यसमा धन्यावाद दिनुपर्छ । यो देशको नेताहरुलाई पनि नचाउने र पर्दा पछाडि बसेर नेताहरुलाई समेत दोहन गर्नसक्ने तत्वहरु पहिचान भइसकेका छन् । तीमध्ये केही त कारबाहीको दायरामा पनि गइसके । नेपाल प्रहरी र सिआईबीले समेत कतिपय मुद्दाहरुको अनुसन्धान गरिरहेको छ ।’
उनले नागरिक सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी पनि गरे ।
उनले पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरु कारबाहीको दायरामा ल्याइसकिएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया