ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छ : रवि सिंह

लोकपथ
49
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण ठेक्का अन्त्य गर्ने नाममा प्रचारबाजी मात्र गरिरहेको आरोप लगाएका छन् । उनले ठेक्का तोडफोडले समस्या समाधान नभई उल्टै पूर्वाधार र अर्थतन्त्र दुवै प्रभावित हुने बताए । 

पूर्वाधार पत्रकार समाजले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले ठेक्का रुग्ण हुनुपर्ने प्रमुख कारण राजनीतिक नेतृत्व स्वयं रहेको स्पष्ट पारे । उनका अनुसार निर्वाचन क्षेत्र केन्द्रित योजनालाई प्राथमिकता दिँदा दीर्घकालीन आयोजना रुग्ण बन्न पुगेका छन् ।

सिंहले भने, ‘ठेक्काहरू रुग्ण किन भए ? यसको प्रमुख जिम्मेवार राजनीतिक नेतृत्व नै हो । हरेक पार्टीले आफ्ना सांसद रहँदा निर्वाचन क्षेत्रका योजनालाई मात्र प्राथमिकता दिए, जसले आयोजना रुग्ण बनायो ।’

उनका अनुसार सचिवदेखि योजना प्रमुखसम्मले पनि कमजोर प्रक्रिया अपनाउँदै बिना तयारी ठेक्का सम्झौता गर्ने, सानो बजेटमा ठुलो परियोजना अगाडि सार्ने, सूचनाहरू हतार–हतार प्रकाशन गर्ने जस्ता गल्तीले ठेक्का समस्याग्रस्त बन्न पुगेका छन् ।

सिंहले हाल रुग्ण ठेक्का अन्त्य गर्ने नाममा गरिएको गतिविधिलाई पूर्वाग्रही भनेका छन् । उनका अनुसार निर्माण व्यवसायीहरू नै ‘भिक्टिम’ बन्नेगरी ठेक्का तोडिँदैछ, जसले निजी क्षेत्र धराशायी बन्ने जोखिम बढाएको छ ।

‘रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति हुन्छ, तर रुग्ण हुन नदिने तयारी र व्यवस्थापनको काम हुन सकेको छैन ।,‘उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?