काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ले ऐतिहासिक व्यापार गरेपछि चलचित्र उद्योगमा सकारात्मक संकेत देखिएका छन् ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपा’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यही मङ्सिर २० गतेसम्म प्रदर्शनमा रहेको चलचित्र ‘परान’ ले करिब १७ करोड रुपैयाँको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले घरेलु बजारमा १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँको व्यापार गरेको छ ।
दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्र ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द र अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । हालसम्म यसका लागि ५ लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भइसकेका छन् । निर्देशक आचार्यका अनुसार, ‘चलचित्रलाई दर्शकले आफैँ सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथामा धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिएका छन्। यो हाम्रै समाजको कथा हो ।’
यसैगरी, गत असोज ३१ गते प्रदर्शनमा आएको ‘जेरी अन टप’ ले ३ लाख ९१ हजार ९९२ टिकट बिक्री गरी १२ करोड २६ लाख ६८ हजार २४० रुपैयाँको व्यापार गरेको छ । अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र केदार घिमिरे अभिनय गरेको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २स् सङ अफ च्याब्रुङ’ ले २ लाख ७ हजार ७१४ टिकट बिक्री गरी ६ करोड २३ लाख ६९ हजार २०० रुपैयाँको व्यापार गरेको छ । दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा र पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेको चलचित्र लिम्बू समुदायको परम्परा र च्याब्रुङको कथामा आधारित छ ।
बाल गायक अशोक दर्जीको जीवनमा आधारित ‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख २ हजार ८७९ रुपैयाँको व्यापार गरेको छ । टङ्क बुढाथोकीले निर्देशन गरेको चलचित्रमा अशोक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल र एआर बुढाथोकीले अभिनय गरेका छन् । हालसम्म यसका लागि १ लाख ४५ हजार ५९ टिकट बिक्री भइसकेका छन् ।
यस्तै, मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हर्ष’ ले घरेलु बजारमा २८ लाख २ हजार ३४६ रुपैयाँको व्यापार गरेको छ । एकता पौडेलले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ र विशाल पहाडीलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र व्यवसायीका अनुसार, नेपाली चलचित्रले अब दर्शकको विश्वास जित्दै राम्रो व्यापार गर्न थालेको छ, जसले आगामी नेपाली फिल्म उद्योगको भविष्य उज्ज्वल रहेको देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया