काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने चामल र क्यानडाबाट आउने मलमा नयाँ कर लगाउने तयारी गरेका छन् । ट्रम्पले सोमबार ह्वाइट हाउसको एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
किसानहरूका लागि नयाँ आर्थिक सहयोगको घोषणा गर्दै विदेशबाट आउने सस्तो सामानले अमेरिकी किसानहरूलाई नोक्सान पुर्याइरहेको उनले बताए ।
ट्रम्पका अनुसार भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा निकै सस्तो मूल्यमा चामल बेचिरहेका छन्, जसले गर्दा अमेरिकी किसानको आम्दानी घटिरहेको छ । उनले यसलाई डम्पिङको संज्ञा दिँदै यस्तो कार्य रोक्नुपर्ने बताएका छन् ।
ट्रम्पले आफ्ना अर्थमन्त्रीसँग भारतले चामलमा कुनै विशेष छुट पाएको छ कि छैन भनेर पनि सोधपुछ गरेका छन् । जवाफमा ती मन्त्रीले दुई देशबीच व्यापार सम्झौतामा छलफल भइरहेको जानकारी दिए ।
ट्रम्पले आवश्यक परे क्यानडाबाट आउने मलमा पनि कडा कर लगाउन चेतावनी दिएका छन् । क्यानडाले अमेरिकालाई सबैभन्दा बढी पोटास मल आपूर्ति गर्दछ ।
त्यस्तै, अमेरिकामा बढ्दो महँगी र लागतका कारण किसानहरू समस्यामा छन् । अझ मलमा नयाँ कर लगाइयो भने किसानहरूको समस्या झनै बढ्ने देखिन्छ ।
ट्रम्पले अतिरिक्त कर लगाए अमेरिकामा भारतीय चामल निकै महँगो हुनेछ । जसले गर्दा अमेरिकामा चामल निर्यात गर्ने भारतीय किसान र व्यापारीलाई आर्थिक नोक्सान हुनेछ ।
मिडिया रिपोर्टका अनुसार भारतले अमेरिकामा धेरै ठूलो परिमाणमा चामल निर्यात गर्दैन । त्यसैले यसले सिंगो उद्योगलाई ठूलो असर नपारे पनि अमेरिकामा व्यापार गर्नेहरूलाई भने पर्नेछ ।
ट्रम्पले आफ्नो ‘अमेरिका फस्ट’ नीतिअन्तर्गत भारतमाथि यसअघि नै विभिन्न कारण देखाउँदै ५० प्रतिशतसम्म कर लगाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया