काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः डडेलधुराबाट उम्मेदवार हुने बताएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कतिपयले देउवाले चुनाव लड्दैनन् भन्ने आकलन गरिरहेका बेला उनले आफ्नो उम्मेदवारीबारे पहिलोपटक मुख खोलेका हुन् । उनले आफू अन्तिम पटक उम्मेदवार बन्न लागेको र यसका लागि आफूलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगन्जस्थित निवासमा भएको कुराकानीमा सभापति देउवाले आफू अबको निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अन्तिम पटक उम्मेदवार हुने बताएका हुन् ।
विकसित राजनीतिक घटनाक्रमका कारण युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने धारणा राख्दा देउवाले आफै उम्मेदवार बन्ने चाहना व्यक्त गरेको उनले बताए । ‘चुनाव उठ्ने, नउठ्ने कुरा चाहिँ तपाईंले नै निर्णय लिनुहोस्’ भन्ने जवाफ आफूले दिएको भट्टले बताए ।
सभापति देउवा २०४८ पछि भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका नेता हुन् । उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
अहिले कांग्रेसका देशैभरका क्षेत्रीय समितिहरूको बैठक गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया