भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग जिल्ला अनुगमन समितिको स्थलगत अनुगमनपछि बन्द गरिएको छ । समितिले कानुनी प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थको दोहन गरेको पाइएपछि उद्योगलाई सञ्चालनमा रोक लगाएको जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङका अनुसार, ‘हामीले जिल्लाभरका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ । कानुन विपरीत सञ्चालनमा रहेका उद्योगलाई कानुनी दायरामा ल्याउन रोक लगाइएको हो ।’ लेगुवाघाटको क्रसर उद्योग पक्की पुलदेखि ३०० मिटर उत्तर, अरुण नदी किनारबाट ६० मिटरको दुरीमा रहेको र बस्ती तथा राजमार्ग नजिक अवैध रहेको समितिले जनाएको छ ।
यसैबिच, महोत्तरीमा सरकारले सोमबार उखुको मूल्य र अनुदान निर्धारण गरेको छ । सरकारले प्रतिक्विन्टल मूल्य ६२० रुपैयाँ र अनुदान ७० रुपैयाँ गरी जम्मा ६९० रुपैयाँ तोकेको छ । उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘हामीले प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनु पर्ने ठानेका थियौँ, तर सरकारले केही कम तोकेको छ। तथापि, गत वर्षको तुलनामा मूल्य ७० रुपैयाँले बढेको छ, जसमा किसानले केही सन्तोष मान्न सक्ने अवस्था छ ।’
खुट्टी उखु कटेर अन्य बाली समयमै लगाउनुपर्ने दबाबका कारण किसान चाँडै उद्योग सञ्चालनको प्रतीक्षामा रहेका छन्। उद्योगले मूल्य निर्धारण टुङ्गिएसँगै मङ्सिरभित्र डोला पूजा गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी गरेको जनाएको छ ।
जिल्लामा यस वर्ष करिब ९,६०० बिघामा उखु खेती गरिएको छ, जसमा ५,००० बिघा खुट्टी र ४,६०० बिघा मुडन बाली रहेको उखु उत्पादक कृषक संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया