व्यवसायीद्वारा कर्णाली सरकारलाई बुझायो ११ बुँदे ध्यानाकर्षण पत्र

लोकपथ
28
Shares

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी कर्णाली प्रदेशका उद्योग व्यवसायीहरूले यहाँको लगानी वातावरण प्रति असन्तोष व्यक्त गर्दै प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले सोमबार सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत प्रदेश सरकारले निजी क्षेत्रको मनोबल उठाउन भूमिका नखेलेको दुःखेसो व्यक्त गरे। उनले कोभिड, भूकम्प, जेनजी प्रदर्शन, अन्तर्राष्ट्रिय मूल्य वृद्धि र बैंकको उच्च ब्याजदरले प्रभावित निजी क्षेत्रलाई सरकारले सहयोग नगरेको आरोप लगाए ।

उद्योग व्यवसायीहरूले जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णालीमा लगानी भित्र्याउन नसक्नु सरकारको कमजोरी भएको भन्दै प्रदेश सरकारको निर्णय र नीतिले निजी क्षेत्रमा थप प्रभाव पारेको बताए ।

ध्यानाकर्षण पत्रमा कर्णाली राजमार्ग सुधार गरी २४सै घण्टा सञ्चालन, निजी क्षेत्रको सहकार्यमा स्टार्टअप उद्यमी कार्यक्रम सञ्चालन, आन्तरिक नियमित हवाई उडान सञ्चालन, कर्णाली सरकारको होटलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन, कोसेली गृह निःशुल्क सञ्चालन, मेला महोत्सव निजी क्षेत्रमा हस्तान्तरण, औद्योगिक पर्यटन र व्यापार प्रदर्शनीस्थल निर्माण, स्थानीय कृषि तथा उद्यम प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन, लघु औद्योगिक ग्रामका उद्यमी भाडा दर घटाउन र सम्झौता अवधि बढाउनुपर्ने, साथै राजमार्ग क्षेत्रका मुख्य बजारमा होटल व्यवसाय २४सै घण्टा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखिएको छ ।

च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले पत्रमा उल्लिखित मागबारे जानकारी दिँदै प्रदेश सरकारले यसमा ध्यान दिने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?