भन्सार एजेन्ट महासंघद्वारा पेन-डाउन, देशभरका भन्सार ठप्प

लोकपथ
91
Shares

काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले देशभरका भन्सार कार्यालयमा पेन-डाउन विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

नयाँ लागू गरिएको भन्सार ऐन २०८२ का प्रावधान एजेन्टहरूको पेसागत हकहितविरुद्ध रहेको भन्दै आज देशभर पेन-डाउन विरोध गर्न लागेको हो । 

महासंघका अनुसार ऐनमा राखिएका कडा दण्ड-जरिवाना तथा अन्य केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेसागत सहजता, काम गर्नुपर्ने वातावरण र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमै नकारात्मक असर पार्ने स्थिति सिर्जना भएको छ । 

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भन्सार ऐनको मस्यौदा तयार गर्ने प्रारम्भिक चरणदेखि नै ऐनमा समावेश हुनुपर्ने महत्त्वपूर्ण विषयहरूबारे भन्सार विभाग, अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायहरूसँग पटकपटक आग्रह गरिए पनि सरकार पक्षले मागहरूलाई बेवास्ता गरेको छ । यही परिस्थिति उत्पन्न भएका कारण महासंघले मंसिर २३ गतेदेखि देशभरका सबै भन्सार कार्यालयमा पेन-डाउनसहितका विरोध कार्यक्रम सुरु गर्न बाध्य भएको छ ।’

महासंघका अध्यक्ष प्राचिन कुमार थैबले सरकार, अर्थ मन्त्रालय र भन्सार विभागले समयमै पहल गरेर समाधान निकालेन भने फेरि थप उग्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपर्ने परिस्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

महासंघले आफूहरूले उठाएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?