काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगको कार्यालय परिसरमै सोमबार उक्त कार्यालय स्थापना गरिएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको मङ्सिर १२ गतेको निर्णयअनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृतको जिम्मेवारी आयोगका सचिव माहादेव पन्थलाई तोकिएको जानकारी दिए ।
सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका छन् । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी खटिनेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीमार्फत ११० सदस्य निर्वाचित हुने व्यवस्था छ ।
उद्घाटन कार्यक्रममा आयुक्त भण्डारीले समानुपातिक निर्वाचनका सम्पूर्ण कार्य यो कार्यालयमार्फत सम्पादन हुने भएकाले सबै सरोकारवालामध्ये समन्वय सहज हुने विश्वास व्यक्त गरे । उनले जातीय, भौगोलिक, लैङ्गिकलगायत समूहको सुनिश्चित प्रतिनिधित्वका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको समन्वयमा कानुनअनुसार प्रतिनिधि चयन गरिने बताए ।
सो अवसरमा निर्वाचन आयुक्तद्वय डा। जानकीकुमारी तुलाधर र गुन शम्शेर जबरासहित आयोगका कर्मचारीको उपस्थिति थियो ।
उता, यसै दिन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन तथा न्यायमन्त्री अनिलकुमार सिन्हाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग आगामी निर्वाचनका तयारीबारे छलफल गरेका थिए । अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
कानुन तथा न्यायमन्त्री सिन्हाले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक कानुनी सहयोग उपलब्ध गराउने आश्वासन दिए। साथै, निर्वाचन कार्यमा स्वदेशी वस्तु तथा उत्पादनको प्रयोग गर्न आयोगलाई आग्रह गरे ।
छलफलपछि निर्वाचन आयोगका प्रवक्ता भट्टराईले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयासलाई यसले थप बल पुगेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया