सरकारलाई नगरप्रमुखको पत्र : ‘गाई भैँसी ब्याउन र धान फल्न अवरोध छैन, दिनदिनै हाकिम फेर्दा पनि हुन्छ’

लोकपथ
0
Shares

काठमाडौं । धनकुटाका एक स्थानीय तहका प्रमुखले पटक पटक प्रशासकीय अधिकृत फेरेपछि सरकारको कडा आलोचना गर्दै पत्र पठाएका छन् । पख्रिबास नगरपालिकाका प्रमुखले संघीय मामिला मन्त्रालयलाई पत्र लेख्दै प्रशासकीय अधिकृत नपठाउँदा पनि भैँसी ब्याइरहेको भन्दै हाकिम नपठाए पनि कुनै फरक नपर्ने व्यङ्ग्य गरेका छन् ।

मंसिर २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नाममा ९६३ बाट पत्र पठाउँदै दिनदिनै हाकिम फेरे पनि हुने भन्दै व्यङ्ग्य गरेका हुन् ।

पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत प्रशासनिक सरुवाको ‘आतंक’ विरुद्ध व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन् । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको सम्बन्धी जानकारी नगरपालिकामा पठाउँदै त्यसको वोद्यार्थ समेत विभिन्न निकायमा दिएपछि नगरपालिकाले पनि त्यसको व्यङ्ग्यात्मक प्रतिक्रिया दिएको हो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै नआउने र आएपनि छिटो छिटो सरुवा हुने विषयमा असन्तुष्टि जनाउँदै मेयरले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन् ।

नगरप्रमुखले आफ्नो पत्रमा भनेका छन्,

‘… यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फुल्न, फल्न र सो को निकासा गरी बिक्रिवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’

पख्रिबास नगरपालिको यो पत्र यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यो पत्रले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवाले सिर्जना गरेको अव्यवस्थाप्रति व्यङ्ग्य गर्दै स्थायित्वको माग गरेको छ ।

पख्रिबास नगरपालिकाका प्रमुखले यो पत्रको वोद्यार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाएका छन् ।

पत्र हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?