अण्डाको मूल्य हालसम्मकै उच्च, भोलिदेखि लागू हुनेगरी नयाँ मूल्य कायम

लोकपथ
735
Shares

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरूमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानले अहिले नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरूको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) ५८०, ठूलो अण्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झरेको थियो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए । 

उनले भने, ‘भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।’

सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ । संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ ।  भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उनले बताए । 

अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलव ५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए । 

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं संघको अण्डाको बजारीकरण अभियानमा लागि रहेका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउँछन् । 

उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैंकिङ ऋण लिएर किसानहरूले ठूलो संख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?