काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले आफ्नो प्यान र ईमेल अद्यावधिक गर्न भनेको हो ।
ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको ”PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जनाएको छ ।
साथै, ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया