‘तन्त्रमन्त्र’ को आरोपमा साढे ६ लाख रुपैयाँ ‘सुपारी’ सिटी सफारी चालकको हत्या, यसरी पक्राउ परे अभियुक्त

लोकपथ
294
Shares

धरान । सुनसरीको रामधुनी नगरपालिकामा भएको सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेका छन् । 

पक्राउ परेका मुख्य योजनाकारहरू राजकिशोर साह (राजेश) र नन्दकिशोर साह हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशवकुमार थेबेले अन्धविश्वास र व्यक्तिगत रिसइबीका कारण ‘सुपारी’ (रकम) दिएर हत्या गराइएको रहस्य सार्वजनिक गरे । 

उनीहरूले मृतक चौधरीले लामो समयदेखि ‘तन्त्रमन्त्र’ र ‘टुनामुना’ गरी आफ्नो परिवारका सदस्यहरूलाई बिरामी बनाएको र दुःख हैरानी दिएको अन्धविश्वास पालेको र  यही रिसइबी साध्न पेसेवर अपराधी प्रयोग गरी चौधरीलाई सिद्ध्याउने योजना बुनेको प्रहरी उपरीक्षक थेबेले बताए । 

चौधरीको हत्या गर्नका लागि साह दाजुभाइले ६ लाख ५० हजार रुपैयाँको ‘सुपारी’ दिएको तथ्य बाहिर आएको छ । 

गत असोज २५ गते शनिबार साँझ प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक, रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए । सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

सुनसरी र सप्तरीको विभिन्न ठाउँबाट पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछका क्रममा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ । सुनसरी जिल्ला अदालतबाट यही मंसिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?