भारतको नाइट क्लबमा भएको आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये ४ जना नेपाली रहेको खुलासा 

लोकपथ
406
Shares

काठमाडौं । भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चार जना नेपाली रहेको खुलेको छ । 

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सोमबार सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली नागरिकको पनि नाम उल्लेख छ । ज्यान गुमाउने नेपालीमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप छन् । उनीहरूको थप विवरण भने सार्वजनिक गरिएको छैन ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि नेपाली नागरिक परेको पुष्टि गरेका छन् । 

‘चार जना नेपाली नागरिक परेको दुःखद खबर प्राप्त गरेका छौं । संवेदनशील अवस्थामा नयाँ दिल्लीस्थित दूतावासले स्थानीय प्रशासन तथा अधिकारीहरूसँग नजिकसँग काम गरिरहेको छ,’ उनले भने । उनले मृतकको थप विवरण लिने काम भइरहेको र आफूहरूले समन्वय गरिरहेको पनि बताए । 

मध्यराति भएको सो घटनामा ६ जना पनि घाइते भएका छन् ।  

शक्तिशाली विस्फोटका कारण आगो केही मिनेटमै क्लबभरि फैलिएको थियो । लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्याउन सफल भएको थियो ।

प्रारम्भिक अनुसन्धानले क्लबमा अग्निसुरक्षा नियम पालना नगरिएको देखाएको छ । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन् ।

फोरेन्सिक (एफएसएल) टोलीले आगलागीको कारण अनुसन्धान गरिरहेको छ ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

  • चुर्ण बहादुर पुन — नेपाल
  • विवेक कटवाल — नेपाल
  • सबिन — नेपाल
  • सुदीप — नेपाल
  • मोहित— झारखण्ड
  • प्रदीप महतो— झारखण्ड
  • बिनोद महतो— झारखण्ड
  • सतीश सिंह — उत्तराखण्ड
  • सुरेन्द्र सिंह — उत्तराखण्ड
  • जितेन्द्र सिंह — उत्तराखण्ड
  • सुमित नेगी — उत्तराखण्ड
  • मनिश सिंह — उत्तराखण्ड
  • दिगम्बर पटिर — असम
  • राहुल तन्ती— असम
  • मनोजित माल — असम
  • सुनील कुमार — उत्तर प्रदेश
  • रोहन सिंह — उत्तर प्रदेश
  • डोमिनिक — महाराष्ट्र
  • मनोज जोरा — महाराष्ट्र
  • इसहाक — कर्नाटक
  • सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
  • सरोज जोशी — दिल्ली
  • विनोद कुमार — दिल्ली
  • अनिता जोशी — दिल्ली
  • कमला जोशी — दिल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?