काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नयाँ गण दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही काठमाडौंको कमान्ड सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ध्रुवबहादुर कार्कीलाई सुम्पेको छ ।
सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका एसएसपी कार्कीले अब ८ सय ४८ जनशक्ति रहेको सो गणको कमान्ड गर्नेछन् ।

सशस्त्र प्रहरी बल नेपालको हालै स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ ले पहिला १८ नम्बर गण रहेको सो गणलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा स्तरोन्नति गरेको थियो । काठमाडौ उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन यो गणलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको हो ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा रहने यो गणमा दुई एसपी, ७ डीएसपी, २० इन्सपेक्टरसहित ८ सय ४८ जनशक्ति रहने व्यवस्था गरिएको छ ।
जसअनुसार यसअघि एसपी विक्रम होमागाईं र गेहेन्द्रबहादुर भण्डारीलाई दंगा नियन्त्रण रेजिमेन्ट गणमा सरुवा गरिएको हो ।
एसएसपी कार्की गत साउनमा मात्र एसएसपीमा बढुवा भएका थिए । वरीयतामा अघि भएपनि यसअघि भएका दुई वटा बढुवामा उनलाई छुटाइएको थियो । तेस्रो पटक गरिएको ६ जनाको बढुवामा भने उनलाई पहिलो नम्बरमै बढुवा सिफारिस गरिएको थियो । एसएसपीमा बढुवा भएपछि उनलाई नम्बर ५ बाहिनीको सहबाहिनीपतिको रूपमा पदस्थापन गरिएको थियो ।

सशस्त्र प्रहरीमा उनलाई काबिल, इमानदार र काम गर्न सक्ने अधिकृतको रूपमा चिनिन्छ । गणपति रहँदा उनले दुई वटा गणलाई उत्कृष्ट बनाएका थिए । दुई दुई वटा गणलाई उत्कृष्ट बनाएको र वरीयतामा अघि हुँदा पनि उनलाई छुटाइएकोमा त्यसबेला नेतृत्वको आलोचना भएको थियो ।

गुल्मी घर भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कार्की नातामा नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका भाइ पर्छन् । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाल प्रहरीको १११ औँ टोलीका ब्याचमेट पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया