संसद पुनस्थापनाका लागि सर्वोच्च जाने कांग्रेसले कुनै निर्णय गरेको छैन : डा. प्रकाशशरण महत

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि सभा पुनस्थापनाका लागि पार्टीले अदालत जाने कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका छन् ।

आज कांग्रेसका विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ८ निवर्तमान सांसदहरुले वारेसमार्फत् प्रतिनिधि सभा पुनस्थापनाका लागि सर्वोच्चमा रिट लिएर पुगेका छन् ।

त्यसबारे लोकपथसँग कुरा गर्दै डा. महतले पार्टीले त्यस विषयमा कुनै पनि आधिकारिक निर्णय नगरेको बताए । यसअघि नै पार्टी केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भने पनि अदालत जाने कुनै निर्णय नगरेको समेत स्पष्ट पारे । साथै आफूहरु निर्वाचनमा होमिएको बताउँदै नेताहरु व्यक्तिगत रुपमा आफ्ना मुद्दा लिएर अदालत गएको उनको धारणा रहेको छ ।

‘खै पार्टीले त्यस्तो निर्णय गरेर प्रतिनिधि सभा पुनस्थापनाका लागि अदालत जाने निर्णय त गरेको छैन । केही साथीहरु आज सर्वोच्च जानुभएको भन्ने सुन्नमा आयो, त्यो उहाँहरुको कुरा होला,’ प्रवक्ता महतले लोकपथसँग भने, ‘नेपाली कांग्रेसले पार्टी बैठकबाटै आगामी निर्वाचनमा जाने र पार्टीलाई जिताउने गरी अघि बढ्ने निर्णय भएको छ । निर्वाचनमा जाने निर्णय भइसकेको अवस्थामा फेरि सर्वोच्चमा जाने कुराले थप अलमल हुने हो कि !’

त्यसो त केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग केपी शर्मा ओलीले भेट गरेको र त्यसपछि कांग्रेस अदालत जाने निर्णयमा पुगेको विश्लेषण समेत भइरहेको छ । एमालेले यसअघि नै प्रतिनिधि सभा पुनस्थापनाका लागि सर्वोच्चमा रिट दायर गरिसकेको छ ।

ओली र देउवाबिच भेटपछि यो घटनाक्रम विकसित भएको पो हो कि भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘अहिलेको विषयलाई भेटघाटसँग जोडेर हेर्न हुन्न । उहाँहरु पहिलेदेखि नै हस्ताक्षर अभियानमा हुनुहुन्थ्यो प्रतिनिधि सभा पुनस्थापनाका लागि त्यही अनुसार जानुभएको होला ।’

कांग्रेसका प्रमुख सचेतक घिमिरेसहितका नेताहरुले यसअघि नै प्रतिनिधि सभा पुस्थापनाका लागि हस्ताक्षर संकलन अभियान नै चलाएका थिए । सोही हस्ताक्षरको प्रयोग गरेर घिमिरेसहित ८ निवर्तमान सांसदहरु सर्वोच्च गएका हुन् । यद्यपि रिट दर्ता हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?