प्रतिनिधि सभा पुनस्थापनाको मागसहित कांग्रेस पनि सर्वोच्चमा

लोकपथ
672
Shares

काठमाडौं । नेपाली कांग्रेसले पनि प्रतिनिधि सभा पुनस्थापनाका लागि सर्वोच्चमा रिट दिएको छ ।

कांग्रेसले पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीमार्फत वारेस दिएर सर्वोच्चमा रिट दायर गरेको हो ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सोमबार मात्रै उक्त रिट निवेदन सर्वोच्चमा दर्ता हुने बताइएको छ ।

यसअघि कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम भने पनि पुनस्थापनाका लागि न्यायालय जाने निर्णय भने गरेको थिएन । कांग्रेसका महामन्त्री गगन थापा लगायतका शीर्ष नेताहरु भने प्रतिनिधि सभा पुनस्थापना भन्दा पनि आगामी निर्वाचनबाट नयाँ जनादेशमा जानुपर्नेमा जोड दिँदै आइरहेका छन् ।

त्यसो त केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको थियो । सोही भेटघाटपछि कांग्रेसको संस्थापन पनि प्रतिनिधि सभा पुनस्थापनाका लागि अघि जाने तयारीमा लागेको बताइन्छ ।

त्यसो त एमालेले यसअघि नै प्रतिनिधि सभा पुनस्थापनाको लागि सर्वोच्चमा रिट दायर गरिसकेको छ । सर्वोच्चले गत मंसिर १७ गते राष्ट्रपति कार्यालयसँग प्रतिनिधि सभा विघटनको कारण माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?