काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराए । उनले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताए । उनले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।
उनले भने, ‘भेटको शुरुमा स्वास्थ्यसम्बन्धी र दिनचर्याका विषयमा चासो राख्नुभयो दुवै जनाले पारिवारिक कुराकानीहरु पनि उहाँहरुबीच एकदमै आत्मियताका साथ भयो । त्यसबाहेक अहिले सरकारले गरिरहेको कामको सन्दर्भमा प्रधानमन्त्रीज्युले केही कुराहरु साझा गर्नुभयो । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्वराष्ट्रपतिज्युले सल्लाह दिनुभयो । आवश्यक परेको सहयोगका लागि आफू तयार रहेको पनि उहाँले भन्नुभयो । त्यसबारे भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा सरकारले चालिरहेको कार्यप्रति पनि उहाँले सकारात्मक भाव राख्नुभयो । प्रधानमन्त्रीले सोहीअनुसार कुरा राख्नुभयो ।’
पूर्वराष्ट्रपति भण्डारीले आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी हुन् । सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबिच भेटघाट भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया