काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् ।
जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् ।
उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए ।
पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे ।
ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे ।
अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताए ।
उनले भने, ‘आगामी कार्यक्रम भनेको चाहीँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउने वाला निर्वाचित सरकारले गर्छ, ती पुराना शक्तिहरु अथवा पात्रहरुले गर्छन् भन्ने त आश नै गर्न सकिँदैन । किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो । आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केहीले गर्न सक्दैन त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यु, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गोलमेच भनौं न एउटा चाहीँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाई सक्नुहुदैन भने छाडिदिनुहोस् ।’
जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए । उनले शनिबार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेन–जी आन्दोलनको आधारमा बनेको भएपनि आफूहरुको माग सम्बोधन नगरेको बताए ।
भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया