अब १४ वर्ष उमेर नपुगी एसईई दिन नपाइने, जन्ममिति सच्याउन सकिने

लोकपथ
602
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा गरेका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दै देशभरका विद्यालयलाई सर्कुलर जारी गरेको छ । 

बोर्डका सदस्य–सचिव जंगबहादुर अर्यालले उमेर नपुगेको भए जन्ममिति सच्याएर मात्र परीक्षा आवेदन फाराम भर्न सुझाव दिएका छन् । 

हाल २०८२ को एसईई परीक्षा आवेदन फाराम तथा २०८३ को परीक्षाका लागि कक्षा ९ को रजिस्ट्रेसन फाराम दर्ता प्रक्रिया चलिरहेको छ ।

कतिपय विद्यार्थी १४ वर्ष पूरा नभएकाले परीक्षाबाट वञ्चित हुने गुनासो आएपछि बोर्डले जन्मदर्ता सच्याउने सुविधा दिएको हो । 

२०८२ साउन १४ बाट नाम, थर, जन्ममिति सच्याउन सरकारले दिएको सुविधाअनुसार विद्यार्थीको विवरणसमेत संशोधन गर्न सकिने बोर्डको भनाइ छ । कक्षा १ मा भर्ना हुँदा प्रयोग भएका अभिलेख स्थानीय पञ्जिकाधिकारीलाई उपलब्ध गराई जन्मदर्ता मिलान गर्न सकिने उल्लेख गरिएको छ ।

बोर्डले जारी गरेको सर्कुलर गृह मन्त्रालय, पञ्जिकरण विभाग, शिक्षा विकास तथा समन्वय इकाई तथा ७ सय ५३ वटै स्थानीय तहमा पठाइएको छ । अभिभावकहरूले भने स्थानीय तहले संशोधनमा सहयोग नगरेको गुनासो गर्दै आएका छन् । १४ वर्षे उमेरहद २०८० देखि पुनः लागू भएपछि विद्यार्थी, अभिभावक र विद्यालयहरूमा अन्योल बढेको बोर्डले स्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?