विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन

लोकपथ
14
Shares

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालले दीगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान तथा प्रविधि क्षेत्रमा पर्याप्त लगानी नहुनु, संरचनागत कमजोरी र अर्थतन्त्रसँग समन्वय अभावका कारण देश पछाडि परेको बताए ।

उनका अनुसार औद्योगिक क्रान्तिका सबै चरणमा नेपाल पछाडि पर्नुको मूल कारण विज्ञान र प्रविधिप्रति गरिँदै आएको बेवास्ता हो । मन्त्री पुनले अनुसन्धान तथा शैक्षिक संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा पनि जोड दिए ।

सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिएको भन्दै उनले अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले योजनाबद्ध लगानी बढाउनुपर्ने बताए ।

मन्त्री पुनले आफूलाई निरन्तर जिम्मेवारी आएमा कम्तीमा तीन अर्ब रुपैयाँ अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा छुट्याउने योजना सार्वजनिक गरे । उनले नेपालमा व्यक्तिगत स्तरको नवप्रवर्तन केन्द्र कमजोर रहेकोप्रति चिन्ता व्यक्त गर्दै नास्टको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।

समारोहमा नास्टले विभिन्न अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याउने १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान र आजीवन अनुसन्धानमा समर्पित पाँच वरिष्ठ वैज्ञानिकलाई कदर पत्र प्रदान गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?