काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग पराजित भएको छ । शनिबार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा ३ छक्का र एक चौकासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै ईशान पाण्डेले ३५ बलमा २ छक्का र २ चौकासहित ३८ रन बनाए भने जोस ब्राउनले २५ बलमा २४ रन बनाए । त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्कासहित १९ रनको योगदान गर्दा विकेटकिपर विनोद भण्डारीले १२ बलमा ३ चौकासहित १५ रनको योगदान दिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट हात पारे । त्यस्तै प्रतिश जिसीले एक ओभरमा ४ रन दिएर २ विकेट लिए भने बसिर अहमदले ४ ओभरमा २७ रन खर्चिए । उनले एक विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले सुरुबाटै आक्रामक खेल्यो । ओपनर सम हेजल्ट र फाफ डू प्लेसिसले अर्धशतक प्रहार गरे । हेजल्टले २१ बलमा ५१ रनको पारी खेल्दा प्लेसिसले २० बलमै ५० रन बनाए । त्यस्तै मार्टिन गुप्टिल ९ बलमा २२ रन बनाएर रन आउट हुँदा बसिर अहमद ९ बलमा ८ रन बनाएर आट भए । लोकेश बम ४ बलमा ३ रन बनाएर नट आउट रहँदा प्रतिश जिसीले ३ बलमा दुई छक्कासहित १३ रनको योगदान दिए ।
सुदूरपश्चिमका अविनाश बोहराले २.५ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए भने हर्मित सिंहले ३ ओभरमा १ विकेट लिएर २७ रन खर्चिए । त्यस्तै कप्तान ऐरीले २ ओभरमा ३८ रन खर्चिए भने हिक्मत महराले १ ओभरमा २० रन खर्चिए । पुनित मेहराले १ ओभरमा ९ रन खर्चिँदा ध्रुव परासरले २ ओभर बलिङ गरेर १७ रन खर्चिए ।
यससँगै विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै पावर प्लेमा पुगेको छ । विराटनगरको ७ खेलबाट १० अंक छ भने पहिलो स्थानमा समान खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम रहेको छ । त्यस्तै काठमान्डु गोर्खाज ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहँदा लुम्बिनी लायन्स ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । विराटनगरसँगको पराजयसँगै सुदूरपश्चिमको अपराजित यात्रामा विराम लागेको छ । अब सुदूरपश्चिम र विराटनगर बिच नै मंगलवार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोलीले शनिवार हुने फाइनल खेल्नेछ । पराजय हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । बुधवार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी लायन्स भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजय हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया