काठमाडौं । पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत् रक्तदान कार्यक्रम भएको हो ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौँको संख्यामा सहभागी भएका थिए ।
रक्तदानमा पार्टीका वरिष्ठ नेता, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौं उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन् । मानवीय सेवालाई पार्टीको अभियानको रूपमा अघि बढाइएको नेताहरूले बताएका छन् ।
रक्तदानलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ छ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशभर विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । रक्तदान कार्यक्रम पनि त्यसैको एक हिस्सा भएको एमालेले जनाएको छ ।
महाधिवेशन नजिकिँदै गर्दा एमालेले ‘जनताको जनवादः समृद्ध नेपालको बलियो आधार’ भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयनको तयारीलाई तीव्र पारेको छ । रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छवि थप उज्यालो बनाएको नेताहरुके दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया