काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिनुपर्ने स्पष्ट गरे । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्ति परास्त गर्न ओली नेतृत्व अपरिहार्य भएको दाबी गरे ।
उपाध्यक्ष थापाका अनुसार पार्टी केन्द्रीय समिति पनि यही निष्कर्षमा पुगेको छ कि वर्तमान राजनीतिक परिवेशमा ओलीको नीति, विचार तथा उपलब्धिले उनलाई निरन्तर नेतृत्वको योग्य बनाएको छ । उनले भने, ‘उहाँका योगदान, नीतिहरू र प्राप्त उपलब्धिहरूले अहिले पनि देश र पार्टीलाई उहाँकै नेतृत्व आवश्यक छ भन्ने देखाएको छ ।’
थापाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ संकेत गर्दै हालको संवेदनशील अवस्थामा नेतृत्वका लागि सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गर्दै हिँड्नु उपयुक्त नभएको टिप्पणी गरे । उनका अनुसार यस्तो कदमले पार्टीभित्र एकता होइन, उल्टो विघटनतर्फ लैजान सक्छ ।
उनले थपे, ‘वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने केन्द्रीय समितिको निष्कर्ष हो । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नाममा विभिन्न उम्मेदवारी घोषणा गर्नु एमाले नेताका लागि सही दिशा होइन । पार्टीलाई एकताबद्ध गर्दै सहमतिका आधारमा अघि बढ्नुपर्छ भन्ने धारणा स्पष्ट छ ।
उपाध्यक्ष थापाले आगामी महाधिवेशन लक्षित गर्दै पार्टीको पदाधिकारी संख्या तथा केन्द्रीय समितिको संरचना विस्तार गर्न पनि आवश्यक देखिएको उल्लेख गरे । उक्त संरचनागत सुधारका लागि विधान संशोधन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया