काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा विश्व माटो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ५ मा मनाइने यी दुवै दिवसले स्वयंसेवाको सम्मान र माटो संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य बोकेको छ ।
संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ देखि मनाउन सुरु गरेको हो । यस दिवसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सेवा संस्कृतिको प्रवर्द्धन, स्वेच्छिक योगदानप्रतिको कदर र समाज विकासमा स्वयंसेवकको भूमिकालाई बलियो बनाउने लक्ष्य लिएको छ ।
यस अवसरमा महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै प्राकृतिक विपद्, द्वन्द्व, गरिबी निवारण तथा संकटग्रस्त समुदायका लागि सेवा गर्ने विश्वभरका स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले स्वयंसेवकहरूको त्याग, साहस र मानवता आजको विश्वका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा हलमा आज सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने तथा राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ ।
यस्तै, विश्व माटो दिवसले स्वस्थ माटोको महत्त्व र दिगो व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तन, कृषि उत्पादन र वातावरणीय सन्तुलनका विषयमा विश्व समुदायलाई सचेत गराउने गर्दछ । सन् २०१३ मा राष्ट्रसंघले यो दिवस मनाउने घोषणा गरेको हो ।
माटो संरक्षण, दिगो कृषि प्रणाली र वातावरणीय जोखिम न्यूनीकरणका लागि विभिन्न बहस, सेमिनार र जनचेतनामूलक गतिविधिहरू आज विश्वभर सञ्चालन हुँदैछन् । कृषक, सरकार, वैज्ञानिक तथा आम नागरिकलाई माटो संरक्षणतर्फ सक्रिय बनाउनु नै दिवसको मूल उद्देश्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया