उद्योग विभाग : जहाँ सक्कलीलाई हराएर नक्कलीलाई मुद्दा जिताइन्छ

ट्रेडमार्क मुद्दामा नक्कलीको हालीमुहाली

काठमाडौं । झापा, मोरङ, इलामलगायतका जिल्लामा पुगेर तपाईँले माउन्टेन ड्यु माग्नुभयो भने अधिकांश स्थानमा तपाईँले पाउने चिसो पेय पदार्थ भनेको मनसुन ड्यु हो । हेर्दा उस्तै लाग्ने र अक्षरको डिजाइनदेखि चिसो पेय पदार्थको रङ, बोतलको आकार आदि पनि सबै मिल्ने । झलक्क हेर्दा त माउन्टेन ड्यु हो कि मनसुन ड्यु हो भनेर छुट्टाउन पनि कठिन हुन्छ ।

ग्राहकले माउन्टेन ड्यु भनेर मागे पनि अधिकांश पसलेले मनसुन ड्यु नै झिकेर दिन्छन् । किनभने पूर्वतिर माउन्टेन ड्यु भन्दा मनसुन ड्यु नै सस्तो छ र उपलब्धता पनि बढी छ ।

बजारमा छ्यापछ्याप्ती पाइनुको कारण मीठो भएर वा अति धेरै माग भएर होइन, यो पेय पदार्थ बेच्दा पसलेलाई पनि राम्रो फाइदा र ग्राहकलाई पनि केही सस्तो हुने भएर हो ।

यदि तपाईँले मागेको माउन्टेन ड्युको सट्टामा पसलेले मनसुन ड्यु दिएपछि मैले मागेको त माउन्टेन ड्यु हो भन्नु भयो भने पनि पूर्वतिरका पसलले ‘हाम्रोतिरको माउन्टेन ड्यु त यही नै हो’ भनेर जवाफ दिन्छन् ।

आखिर उस्तै बोतल, उस्तै डिजाइन, उस्तै नाम र उस्तै आकारमा किन मनसुन ड्युको उत्पादन गरियो त ? जवाफ स्पष्ट छ, अरूले नै बनाएको साम्राज्यमा नाफा खान । अर्थात्, पेप्सी कम्पनीको उत्पादन रहेको माउन्टेन ड्युको लोकप्रियता, विज्ञापन आदिको फाइदा उठाएर झुक्क्याएरै उपभोक्तालाई बेची अत्यधिक नाफा कमाउन यस्ता डमी र कपी प्रोडक्टको उत्पादन र बिक्री वितरण हुन्छ ।

पहिला मनसुन ड्युको फोटो हेरौँ, अनि यसबारे बुझौँ ।

उस्तै बोतल, उस्तै डिजाइन, उस्तै नाम र उस्तै आकारमा किन मनसुन ड्युको उत्पादन गरियो त ? जवाफ स्पष्ट छ, अरूले नै बनाएको साम्राज्यमा नाफा खान….

हो, ठ्याक्कै माउन्टेन ड्यु जस्तै देखिने यो पेय पदार्थलाई ध्यान दिएर हेरियो भने यो माउन्टेन ड्यु नभएर मनसुन ड्यु हो ।
मनसुन ड्यु सिंगापुर वेभरेजले उत्पादन गरेको पेय पदार्थ हो । अनि यसका मालिकचाहिँ रामकृष्ण शर्मा उर्फ रमेश शर्मा हुन् भने यसको निर्देशकमा रमेशका छोरा डा. आशिष शर्मा रहेका छन् । सिंगापुर वेभरेजका मालिक रमेश शर्मा पहिले पेप्सी कम्पनीको नेपालस्थित उत्पादक वरुण वेभरेजले उत्पादन गर्ने पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, स्लाइस जस्ता सामाग्रीहरू डिलरसीप राखी बिक्री गर्दथे । उनले कोकाकोला र पेप्सी कम्पनीको सामानहरूको डिलरसिप गरी बिक्री वितरण गर्दथे ।

यी दुई कम्पनीबाट उत्पादित सामाग्रीको राम्रो व्यापार देखेका उनले त्यस्तै नामका नक्कली पेय पदार्थ उत्पादन गरी बिक्री गर्न सकिए ठूलो फाइदा हुने देखे । त्यसपछि उनले सिंगापुर वेभरेज प्रालि नामको कम्पनी खोले र त्यहीँबाट मनसुन ड्यु, क्लब कोला लगायतका सामाग्री उत्पादन गर्न थाले ।

सुरु सुरुमा उनले ती सामाग्रीको बिक्री गर्दा कोकाकोलाकै नयाँ प्रोडक्टका रूपमा क्लब कोला र माउन्टेन ड्युकै नयाँ नाम भन्दै मनसुन ड्यु बिक्री वितरण गर्न थाले ।

पसलेले पेप्सी वा कोकाकोलाको प्रोडक्टमा भन्दा बढी नाफा पाउन थालेपछि उस्तै तर नक्कली पेय पदार्थहरूको बिक्री वितरण गर्न थाले….

ग्राहकले उनको पेय पदार्थ मन नपराएपनि पसलेलाई केही सस्तो मूल्यमा बिक्री गर्न थालेपछि पसलेले पेप्सी वा कोकाकोलाको प्रोडक्टमा भन्दा बढी नाफा पाउन थालेपछि सिंगापुर वेभरेजबाट उत्पादन भएका उस्तै तर नक्कली पेय पदार्थहरूको बिक्री वितरण गर्न थाले । जस्तो कि कोकाकोलाको जस्तै सबै डिजाइन र अक्षर यस्तै राखेर क्लब कोला र माउन्टेन ड्यु जस्तै देखाएर मनसुन ड्यु ।

पूर्वको बजारमा नक्कली पेय पदार्थको बिगबिगी बढी आफ्नो ब्रान्डमा धक्का लागेपछि कोकाकोला कम्पनी र पेप्सी कम्पनी सिंगापुर वेभरेजविरुद्ध कम्पनी रजिस्ट्रारको कार्यालयमा ट्रेडमार्क दाबी विरोधको मुद्दा लिएर पुग्यो । आफ्नै जस्तै नाम, लोगो, डिजाइन र बोतलसमेत उस्तै बनाएर सिंगापुर वेभरेजले पेय पदार्थको उत्पादन र बिक्री गरिरहेको भन्दै विभागमा मुद्दा पर्‍यो ।
२०७८ असार ७ गते उद्योग विभागमा उजुरी परेपछि बल्ल सिंगापुर वेभरेजले ट्रेडमार्कको चोरी गरेको र उस्तै नाममा पेय पदार्थको उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने उजुरी परेपछि पेप्सी कम्पनी र सिंगापुर वेभरेजबिच मुद्दाको सुरुवात भयो ।

पेप्सी कम्पनीले सिंगापुर वेभरेजबाट उत्पादन भएको मनसुन ड्युविरुद्ध मुद्दा दायर गर्दा यस्तो जिकिर लिएको थियो ।
‘उजुरकर्ता अमेरिकास्थित पेप्सीको आईएनसी ख्यातिप्राप्त स्थापित कम्पनी हो । पेय पदार्थमा एक बहुचर्चित ब्रान्ड माउन्टेन ड्यु नामक ट्रेडमार्क उजुरीकर्ताको विगत लामो समयदेखि प्रयोग गर्दै आएको सुपरिचित र मौलिक ट्रेडमार्क भएको र विपक्षीले उजुरीकर्ताको एकलौटी स्वामित्वको ट्रेडमार्कबाट प्रचलित व्यापारिक लाभ लिने मनसायले आवेदन नं. ०७११६० अन्तर्गत दर्ता माग गरेका माउन्टेन ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्क पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८, सन्धि ऐन, २०४७ को दफा ९, पेरिस महासन्धिको धारा २६ तथा १० लगायतका कानुनी आधारहरूमा विपक्षीको ट्रेडमार्क दर्ता गर्न नमिल्ने भएकाले विपक्षीको आवेदन दर्ता नगरी पाऊँ ।’

२०७८ असार ७ गते उद्योग विभागमा दर्ता भएको यो उजुरीपछि दिएको लिखित जवाफमा उजुरीकर्ताको ट्रेडमार्क माउन्टेन ड्युमा रहेको र आफूहरूको उत्पादन मनसुन ड्यु रहेको, आफूहरूको उत्पादन मनसुन ड्युले माउन्टेन ड्युको ख्यातिमा कुनै असर नपुर्‍याएको, माउन्टेन ड्युको प्रतिष्ठामा कुनै धक्का पर्ने वा ख्यातिमा असर पर्ने अवस्था नरहेको, समानता भनेको ड्युमा मात्रै रहेको र ड्यू शब्दको अर्थ ओस वा चिसोको कारण बन्ने पानीको थोपा भएको, उक्त शब्द जेनेरिक शब्द भएकाले कुनै एकको मात्रै ट्रेडमार्क हुन नसक्ने भएकाले एकाधिकार नै नरहने विषयमा समेत उजुरी गर्न नपाइने भन्दै उजुरी खारेजी गरिपाउन माग गर्‍यो ।

त्यसपछि यो विषयले मुद्दाको रूप लिँदै अगाडि बढ्यो ।

सिंगापुर वेभरेजले सोही नाममा आफ्नो उत्पादन गर्दै बिक्री वितरण गरिरह्यो तर आफ्नो वेभसाइटबाट नाम र लोगो वा डिजाइन भने हटायो ……..

मुद्दा चल्दै गर्दा पनि सिंगापुर वेभरेजले सोही नाममा आफ्नो उत्पादन गर्दै बिक्री वितरण गरिरह्यो तर आफ्नो वेभसाइटबाट नाम र लोगो वा डिजाइन भने हटायो । यतिसम्म गर्‍यो कि यो समाचार तयार पार्दासम्म पनि सिंगापुर वेभरेजको वेबसाइटमा माउन्टेन ड्युको नाम छैन ।

त्यसपछि २०८१ कात्तिक ८ गते उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको इजलासमा यी विषयमा बहस गरियो । बहस हुँदा सुरुमै माउन्टेन ड्यु नामक शब्द र लोगोको डेट एक्सपायर भइसकेको जिकिर गरियो । त्यो किन भयो भने जतिबेला मुद्दा दायर भयो, त्यतिबेला त्यसको भ्यालिडिटी कायमै थियो । तर प्राविधिक कारण अर्थात् फैसला भएको मितिमा डू द ड्यूको भ्यालिडिटी कायम रहेको तर माउन्टेन ड्युको ट्रेडमार्कको भ्यालिडिटी कायम नरहेको भन्दै प्राविधिक कुरामै विभाग अल्झियो ।
त्यसपछि फैसलाको प्रकरण नम्बर ८ मा माउन्टेन ड्यु र मनसुन ड्युको अवधारणा, संरचना र बोल्दा वा सुन्दा उस्तै लाग्ने होइन भनी ठहर गरियो ।

सक्कली वा पुरानो पेय पदार्थ माउन्टेन ड्युलाई हराउन नक्कली पेय पदार्थ वा मनसुन ड्युको पक्षमा गरिएको फैसलाको प्रकरण ८ मा भनिएको छ,

‘उजुरकर्ताको नाममा दर्ता कायम रहेको माउन्टेन ड्यु र प्रतिवादीले आवेदन गरेको मनसुन ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्कमा ड्यु शब्द मात्र समान रहेकोमा विवाद छैन । अब ड्यु शब्दको शाब्दिक अर्थलाई हेर्ने हो भने ओस वा चिसोको कारण बन्ने पानीको थोपा जनाउने शब्द ड्युलाई मानिएको छ । ड्यु शब्द जेनेरिक शब्द भएकाले यसलाई कोही कसैले एकलौटी वा छुट्टै रूपमा ट्रेडमार्क ग्रहण गर्न मिल्ने होइन । कार्बोनेटेड सफ्ट ड्रिंकको क्षेत्रमा जेनेरिक शब्द ड्युको प्रयोग गरी विपक्षी प्रतिवादी सिंगापुर वेभरेजले उजुरीकर्ता वादीको माउन्टेन ड्यु नामक ट्रेडमार्कको हुबहु नक्कल गरी उपभोक्ता झुक्किने गरी मनसुन ड्यु (एन्ड लोगो) को प्रयोग गरेको भन्ने सम्बन्धमा प्रतिवादी कम्पनीको मनसुन ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्क र उजुरकर्ता कम्पनीको माउन्टेन ड्यूसँग Conceptually, Structurally, phonetically रूपमा मिल्दोजुल्दो रहेको तथा हुबहु नक्कल गरेको भन्ने उजुरकर्ताको दाबीसँग सहमत हुन सकिएन ।’

उद्योग विभागबाट नक्कली पेय पदार्थको पक्षमा भएको फैसलाको प्रथम पृष्ठ र फैसला गर्ने महानिर्देशक यज्ञराज कोइराला ।

उद्योग विभागबाट नक्कलीलाई जिताउने गरी गरिएको फैसलामा त ‘मनसुन र माउन्टेन शब्द र शब्दको बनावट अलग अलग रहेको, दुवैको उच्चारणसमेत अलग अलग रहेको र दृश्यात्मक रूपमा समेत फरक देखिन्छ’ भनी ड्यु शब्द र माउन्टेन वा मनसुनलाई अलग अलग राखेर परिभाषित गर्न खोजिएको छ । त्यति मात्रै होइन, दुवैको बोतल एकै स्थानमा राख्दा झुक्किने प्रकृतिको भएपनि दृश्यात्मक रूपमा समेत फरक भनी जिकिर लिइएको छ ।

फैसलाको प्रकरण १२ मा भनिएको छ,

‘…उजुरीकर्ता अमेरिकास्थित पेप्सी को इंकको नाममा प्र.प.सं. २४००२ बाट मिति २०६९।११।१६ मा माउन्टेन ड्यु लोगो (एन्ड कलर), प्र.प.सं. २२१८८ बाट मिति २०६१।०६।२६ मा डू द ड्यु (शब्द), प्र.प.सं. ०५११७९ बाट मिति २०७७।९।१३ मा ड्यु (स्टाइलाइज्ड) (एन्ड लोगो) र प्र.प.सं. ३९२०८ बाट मिति २०७२।४।३२ मा माउन्टेन ड्यु (शब्द) नामक ट्रेडमार्क दर्ता कायम रहेको देखियो । विपक्षी सिंगापुर वेभरेज नेपाल प्रालिले आवेदन नं. ०९५७०८ बाट मनसुन ड्यू (एन्ड लोगो) नामक ट्रेडमार्क दर्ताका लागि आवेदन गरेको देखिन्छ । दुवै पक्षको ट्रेडमार्क र पेस हुन आएका ट्रेडमार्क प्रयोग भएमा उत्पादित नमुना अध्ययन गर्दा मनसुन र माउन्टेन शब्द र शब्दको बनावट अलग अलग रहेको, दुवैको उच्चारणसमेत अलग अलग रहेको र दृश्यात्मक रूपमा समेत फरक देखिन्छ । दुवैको ट्रेडमार्कमा साझा रहेको ड्युको सम्बन्ध विचार गर्दा अंग्रेजी शब्द ड्युले चिसोका कारण बन्ने सितको थोपालाई जनाउन प्रयोग गरिने हुँदा चिसो पेय पदार्थलाई चिनाउने ड्युलाई सामान्य शब्द (जेनेरिक शब्द)को रूपमा हेर्नु पर्ने देखिन्छ । भारतलगायतका मुलुकमा समेत ड्यु जोडिएका धेरै पेय पदार्थ सम्बन्धी ट्रेडमार्क दर्ता रहेको देखिन्छ । नेपालमा समेत उद्योग विभागले मिति २०७६।०३।१५ मा प्र.प.सं. ४८४९९ बाट सम्भावी फुड एन्ड वेभरेज प्रालिको नाममा बीटीएम ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्क दर्ता गरिसकेको अभिलेखबाट देखिन्छ ।’

यसरी मनसुन ड्युलाई वैधानिकता दिन फैसलामा धेरै मिहेनत गरेको देखिन्छ ।
सोही फैसलाको प्रकरण १२ मा भनिएको छ,

‘अतः माथि विवेचित आधार एवं कारणहरूबाट प्रस्तुत मुद्दामा वादीले लिएको मागदावीका सम्बन्धमा हेर्दा यस विभागबाट यिनै उजुरीकर्ता र विपक्षी रहेको ट्रेडमार्कको दाबी विरोधको (आवेदन नं. ९५७०७, ०९५७०८) मुद्दामा र नि.नं. ४९ मुद्दा नं. १८१ को मुद्दामा उजुरीकर्ताको उजुरी दाबी नपुग्ने ठहरी फैसला भएको हुँदा विपक्षी प्रतिवादीको मनसुन ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्क निजको नाममा दर्ता हुने ठहरी निर्णय भएको समेतका कारणबाट उजुरीकर्ताको उजुरी दाबी पुग्न नसक्ने ठहर्छ । विपक्षी सिंगापुर वेभरेज नेपाल प्रालिले आवेदन नं. ०७११६० अन्तर्गत वर्ग ३२ मा मनसुन ड्यु (एन्ड लोगो) नामक ट्रेडमार्क दर्ता हुने ठहर्छ ।’

आम उपभोक्ता मात्रै होइन, उद्योग विभाग, वरुण वेभरेज, सिंगापुर वेभरेजलाई राम्रैसँग थाहा छ कि माउन्टेन ड्यु सक्कली अर्थात् पहिले नै दर्ता भई उत्पादन भएको ख्यातिप्राप्त ब्रान्ड हो र मनसुन ड्यु माउन्टेन ड्युकै नक्कली रूप हो ……..

उद्योग विभागमा कार्यरत कानुन शाखाका उपसचिव मानबहादुर बस्नेतले तयार पारेको फैसलामा महानिर्देशकले टिपाएबमोजिम भनिएको छ । यसको मतलब महानिर्देशकले जे जे भने त्यही अनुसार फैसला तयार गरिएको हो भनिएको हो ।
आम उपभोक्ता मात्रै होइन, उद्योग विभाग, वरुण वेभरेज प्रालि, सिंगापुर वेभरेजलाई राम्रैसँग थाहा छ कि माउन्टेन ड्यु सक्कली अर्थात् पहिले नै दर्ता भई उत्पादन भएको ख्यातिप्राप्त ब्रान्ड हो र मनसुन ड्यु माउन्टेन ड्युकै नक्कली रूप हो ।

पेप्सी कम्पनीले नेपालको कार्बोनेटेड ड्रिंक्सको उत्पादन र व्यापारमा ४६ प्रतिशत बजार हिस्सा ओगटेको छ र त्यसको करिब ८५ प्रतिशत हिस्सा माउन्टेन ड्युको मात्रै छ ।

आफ्नो उत्पादनको ८५ प्रतिशत हिस्सा र समग्रतामा हेर्दा पनि करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको माउन्टेन ड्युकै विज्ञापन, ब्रान्ड आदि देखाएर सस्तो मूल्यमै वस्तु उत्पादन गरी महँगोमा बेच्न सिंगापुर वेभरेजले मनसुन ड्यु नामक कार्बोनेटेड सफ्ट ड्रिंक्स बजारमा ल्यायो ।

उस्तै अक्षर, उस्तै रङ, उस्तै आकार र उस्तै डिजाइनमा हुँदा समेत माउन्टेन ड्यु र मनसुन ड्युकाे केवल अगाडि रहेको शब्दको शाब्दिक अर्थमा अल्झिएर फरकफरक हो भनिदियो ……

दुनियाँलाई थाहा भएको कुरा हो कि को सक्कली र को नक्कली भनेर कसैले सोध्यो भने सबैले भन्छ कि माउन्टेन ड्यु सक्कली हो र मनसुन ड्यु नक्कली हो ।

तर उद्योग विभागले उस्तै अक्षर, उस्तै रङ, उस्तै आकार र उस्तै डिजाइनमा हुँदा समेत माउन्टेन ड्यु र मनसुन ड्युकाे केवल अगाडि रहेको शब्दको शाब्दिक अर्थमा अल्झिएर फरकफरक हो भनिदियो ।

बहुराष्ट्रिय कम्पनीले वर्षौंसम्म गरेको मिहेनत, बनाएको साख र प्रतिष्ठा कुनै एक नयाँ कम्पनीले हुबहु हुने गरी कपी गर्दा नेपालको ट्रेडमार्क हेर्ने उद्योग विभागले देख्दैन र नक्कलीलाई नै जिताइदिन्छ ।

उद्योग विभागले गरेको कतिपय फैसला उच्च अदालत वा सर्वोच्च अदालतबाट उल्टिएको भए पनि कैयन् फैसला त उच्च अदालतले पनि सदर गरेर सक्कलीलाई लात हान्दै नक्कलीलाई साथ दिएको देखिन्छ ।

उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले समेत सक्कली माउन्टेन ड्युलाई हराएर नक्कली मनसुन ड्युलाई उस्तै नदेखिने, उस्तै नसुनिने भन्दै जिताइदिए, जबकि यसको बोतल, रङ, डिजाइन हेर्दा नझुक्किने कोही छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?