काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अब उपत्यकाभित्र सञ्चालन हुने सबै प्रकारका लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने नियम आजदेखि कार्यान्वयनमा आएको हो ।
ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा लामो दूरीका सवारी साधनहरूले स्थानीय बस सरह सडकमै रोकिएर यात्रु चढाउने–उतार्ने गतिविधि बढाएपछि विशेष गरी ‘पिक आवर’मा गम्भीर जाम सिर्जना हुँदै आएको थियो ।
उनले भने, ‘राजधानीका सडकमा भीड तीव्र गतिमा बढिरहेका छन् । लामो दूरीका गाडीहरूको अव्यवस्थित पार्किङ र जथाभाबी रोकिने प्रवृत्तिले जामलाई झनै चर्काएको छ । त्यसैले अब सबै गाडी बसपार्कबाट मात्र छुट्ने व्यवस्था अनिवार्य गरिएको हो ।’
लामो दूरीका सवारी साधनलाई दिइँदै आएको बाटो इजाजतपत्र (रुट परमिट) समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक कार्यालयले जनाएको छ । यसका लागि सम्बन्धित निकायसँग पहल गरिसकिएको प्रवक्ता सुवेदीले बताए ।
‘ट्राफिक जामले नागरिकको दैनिकीमा प्रत्यक्ष असर पुर्याउँछ । यसको दीर्घकालीन समाधानका लागि सबै निकायबिच समन्वय अपरिहार्य हुन्छ,‘ उनले भने ।
रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी गुडाउन खोज्ने चालकका लागि ट्राफिक प्रहरीले अनिवार्य सचेतना कक्षा सञ्चालन गरिरहेको छ ।
यी कक्षालाई अझ प्रभावकारी बनाउन नयाँ कार्य योजना तयार गरिएको कार्यालयले जानकारी दिएको छ ।
सचेतना कक्षा अब अनलाइन पनि लिन सकिने व्यवस्था गरिएको छ । मोबाइल एप मार्फत कक्षा लिन चाहनेले पहिले इन्स्टल गरेको एप अनइन्स्टल गरी पुनः इन्स्टल गर्नुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्था लागू भएपछि उपत्यकाभित्र अव्यवस्थित पार्किङ, अनावश्यक सडक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने ट्राफिक प्रहरीले विश्वास व्यक्त गरेको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापन सुदृढ बनाउन तथा नागरिकलाई सहज र सुरक्षित आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया