एमाले महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

लोकपथ
49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । 

महाधिवेशनको उद्घाटन सत्र मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुने छ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने छ ।

पार्टीले महाधिवेशनका लागि गठन गरेको स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन सत्रमा ठूलो जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालनको व्यवस्था गरिएको हो । महाधिवेशनको बन्द सत्रमा करिब ५०० स्वयंसेवक खटिनेछन् । यी स्वयंसेवक पार्टीका २४ जनसङ्गठन तथा विभिन्न कमिटीबाट चयन गरिएका छन् ।

एमालेको हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवक समन्वयको जिम्मेवारी सम्हाल्नेछ ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा महाधिवेशनको अवलोकन एमालेका उपमहासचिव तथा जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार गरेको छ । अवलोकनमा केन्द्रीय प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी थिए ।

संयोजक ढकालका अनुसार उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ। उद्घाटनका दिन पूर्वबाट आउने सवारी साधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा, पश्चिमबाट आउनेलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने छ । मञ्च व्यवस्थापन, शौचालय र अन्य पूर्वाधार निर्माणका लागि स्वयंसेवकहरूले तयारी पूरा गरिसकेका छन् ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी जम्मा दुई हजार ४०० प्रतिनिधि रहने छन् । महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?