काठमाडौं । काठमाडौं । लुम्बिनी विकास कोषको नवनियुक्त सदस्यसचिव दीपक श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार कोषको कार्यालयमा पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।
गत मंसिर ४ गते नै मन्त्रिपरिषद्बाट कोषको सदस्यसचिवमा नियुक्त भए पनि तत्कालीन मुख्यसचिवले निर्णय प्रमाणित नगरेपछि श्रेष्ठले नियुक्ति पाएका थिएनन् । त्यसपछि मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नै सदस्य सचिवमा नियुक्त गर्ने निर्णय दोहोर्याएपछि मात्रै उनले नियुक्ति पत्र पाएका हुन् । मंगलबार नियुक्ति पत्र पाएपछि श्रेष्ठले बुधबार कोषको कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।
बुधबार पदभार ग्रहण गर्दै सदस्यसचिव श्रेष्ठले लुम्बिनी विकास कोषलाई आफ्नो नेतृत्वमा पारदर्शी र प्रभावकारी बनाउने र लुम्बिनीलाई विश्वको उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने बताए ।
गत असोज २१ गतेबाट तत्कालीन सदस्यसचिव सानुराजा शाक्यको पाँच वर्षे पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो । शाक्यको अवकाशपछि कोषले लामो समयसम्म नयाँ सदस्यसचिव नपाउँदा अन्तरिम व्यवस्थापनमै काम चलाउनु परेको थियो । बुधबारबाट नयाँ सदस्यसचिवले पदभार ग्रहण गरेपछि अब आर्थिक र प्रशासनिक कामले नियमितता पाएको छ ।

नवनियुक्त सदस्यसचिव श्रेष्ठ पेसाले सिभिल इन्जिनियर हुन् । श्रेष्ठले यसअघि खानेपानी संस्थानमा करिब १६ वर्ष सहायक प्रबन्धकको रूपमा रही काम गरिसकेका छन् । उनी धरानमा कार्यालय प्रमुख भएर गएपछि त्यहाँको खानेपानीको समस्यालाई व्यवस्थापकीय सुधार गरेर सहजता प्रदान गरेका थिए । त्यसपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लामो समय अनुसन्धान अधिकृतका रूपमा काम गरेका थिए ।
बुधबार पदभार ग्रहण गर्दै श्रेष्ठले भनेका छन्, ‘लामो समयदेखिको अधुरो रहेको लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने तर्फ मेरो ध्यान केन्द्रित गर्नेछु ।’ उनले आफ्नो कार्यकालमा स्थानीय समुदायको भावना र चाहनालाई प्राथमिकता दिँदै लुम्बिनीको विकासलाई गतिशील बनाउने र विश्वव्यापी आकर्षणको केन्द्र बनाउने गरी रणनीति तयार पारी काम गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया