काठमाडौं । यतिबेला नेकपा एमाले आफ्नो ११औँ महाधिवेशनमा होमिएको छ ।
आगामी मंसिर २७, २८ र २९ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुने मिति तोकिएको छ । केही जिल्लाबाहेक देशभरबाट महाधिवेशनका लागि प्रतिनिधिहरु चुनिएर आइसकेका छन् ।
खासगरी जेनजी आन्दोनलपछि नयाँ बहसबाट अघि बढेको एमाले महाधिवेशन गर्ने भनिरहे पनि नेतृत्वका लागि भने वर्तमान अध्यक्ष केपी शर्मा ओली नै अघि आउने देखिएको छ ।
पार्टीभित्र ओलीको दबदबा भइरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनौती दिने घोषणा गरिसकेका छन् । साथै ईश्वरलाई पार्टीको पूर्व उपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको छ ।
ओलीविरुद्ध ईश्वरले उम्मेदवारी दिने घोषणाले एमालेभित्रको राजनीति कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ । कतिपयले दुई पक्षबिचको रस्साकस्सीले कतै पार्टी फुटको अवस्थामा त जाँदैन भनेर चर्चा समेत भइरहेको छ ।
यता एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल भने आगामी महाधिवेशनबाट पनि ओली नै नेतृत्वमा आउने दाबी गर्छन् ।
बुधबार दिउँसो पार्टी निकट प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आसन्न ११औँ महाधिवेशनमा सहमतिका साथ टुंगिने दाबी समेत गरे । अध्यक्ष ओलीको नेतृत्वको वरिपरि गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण आफूले नदेखेको उनको जिकिर छ ।
उपाध्यक्ष पौडेलले सोही कार्यक्रममा पार्टीको पाँचौ महाधिवेशन स्मरण गरे, जहाँ मदन भण्डारीको पार्टीभित्र दबदबा रहेको थियो ।
५औँ महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने समेत उनको दाबी छ ।
‘म तपाईँहरुलाई बताउँछु, पाँचौ राष्ट्रिय महाधिवेशनबारे । हामीले पार्टीको पाचौँ महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरेका थियौँ । महाधिवेशनमा नोमिनेशन भयो । त्यहाँ मदन भण्डारीको जब्बरजस्त प्रभाव थियो । उहाँले प्रभाव दिन भनेर गरेको पनि होइन । उहाँका विचार, उहाँका व्यवहार, उहाँका प्रस्तुति त्यसको प्रभाव थियो । नोमिनेशन सकियो, एकथरी साथीहरुले नोमिनेशन नै गरेनन । उनीहरुलाई के लाग्यो भने चुनावमा गयो भने हारिन्छ । हार्ने चुनाव किन लडने ? नोमिनेशन नै नगर्ने । बडो आफूलाई मुर्धन्य भनिठानेका नेताहरुले नोमिनेशन नै गरेनन् । पछि यस्तो परिस्थिति बन्यो कि जसजसको नोमिनेशन भयो, त्यो पनि फिर्ता भनेर सबैको उम्मेदवारी फिर्ता भयो । त्यसपछि फेरि छलफल भयो । रस्साकस्सी भयो । पार्टी फुट्यो भन्दै थिए मान्छेहरु । पार्टी फुट्ने होइन, हामी सहमतीका साथ महाधिवेशन सकेर भव्य विजय उत्सव मनायौँ हामीले । त्यसपछिका एमालेका यात्राहरुको बारेमा म मैले धेरै केही भनिरहनु परेन । त्यसकारणले फुटयो, फुटयो अव डिलडिलमा पुग्यो, टुक्रा, टुक्रा भयो भनेको अवस्थाबाट पनि पार्टीलाई सम्हालेर लिएर हिँडेको हाम्रो अनुभव छ । मिल्दैनन् भनेको बेलामा पनि मिलेको अनुभव छ,’ उपाध्यक्ष पौडेलले पाचौँ महाधिवेशन स्मरण गर्दै सुनाए ।
उनले पाचौँ महाधिवेशन जस्तै अहिलेको महाधिवेशन पनि सोही दिशामा अघि बढ्ने बताए । त्यसबेला जस्तै अहिले पनि विभिन्न पदका लागि मनोनयन हुने भए पनि पछि सबै उम्मेवारी फिर्ता भएर सर्वसम्मत ओली नै नेतृत्वका आउने बताए ।
‘मलाई के लाग्दैन भने अहिले चाँही अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिन । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन,’ उनले भने, ‘यो धु्रव २९ गतेसम्म रहँदैन । त्यो भन्दा अगाडि नै सकिन्छ । म अहिले पनि के देख्छु भने नेकपा एमालेको ११ औ महाधिवेशन सहमतिका साथ, एकताका साथ सम्पन्न हुने सम्भावना देख्छु मैले ।’
नेकपा एमालेको पाचौँ राष्ट्रिय महाधिवेशन २०४९ साल माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।
काठमाडौंको दशरथ रंगशालामा उद्घाटन भएको महाधिवेशनको बन्दशत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनका बेला मदन भण्डारीको पार्टीभित्र दबदबा मात्रै होइन, चर्चा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नै थियो । ०४८ सालको निर्वाचनमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नै पराजित गर्दै दुई दुई ठाउँबाट चुनाव जितेका मदन भण्डारी थप चर्चामा थिए ।
मदन भण्डारी आकर्षणको केन्द्रमा भएको पृष्ठभूमिमा उक्त महाधिवेशन आयोजना भएको थियो । यस महाधिवेशनले नै उनीद्वारा अघि सारिएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा अंगीकार गरिएको थियो ।
पाँचौँ राष्ट्रिय महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई महासचिव चयन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया