प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्रीसँग अघि सार्‍यो यस्ता माग

लोकपथ
217
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो ।

सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किराँतीले बताए ।

त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ । जेनजीहरुले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरु पनि आफूहरुले सरकारसँग राखेको नेता किराँतीले बताए ।

‘जेनजीहरुले उठाएका न्यायपूर्ण मागलाई पूरा गरियोस् भन्ने हाम्रो माग छ । भाद्र २४ गतेको प्रकृति र विशिष्ट परिस्थितिमा भएका घटनाहरुलाई निष्पक्ष र पूर्वाग्रहरहित तवरले छुट्टयाई अभियोजन गर्नैपर्ने घटनालाई मात्रै अभियोजन गर्ने र अन्य घटनालाई संक्रमणकालीन न्यायका आधारभुत सिद्धान्त अनुरुप सम्बोधन गरियोस् लगायतका हाम्रा माग छन्,’ नेता किरातीले भने, ‘आर्थिक तथा सामाजिक न्याय सम्बन्धमा यो कृषि क्षेत्रमा ठूलो बजेट विगतमा हिनामिना भएको छ । त्यसको खोजबिन होस । समयमा किसानले मल बीउ पाओस् । कोभिड पछाडि जसरी आर्थिक मन्दी भयो, साना व्यापारीहरुलाई एक ढंगले ऋणको पासो लागेको छ । उनीहरुलाई राहत दिइयोस् । यो सहकारी ठगी, मिटरब्याजी र लघुवित्तमा राजनीतिक संरक्षण पाएर बेइमानहरुले नागरिकलाई दुःख दिएको छ । त्यसको पनि उचित छानबिन गरी छिटो भन्दा छिटो कानूनको दायरामा आउनुपर्छ भन्ने हाम्रो माग छ । वैदेशिक रोजगारमा जानेहरुलाई श्रम स्वीकृती गर्ने झन्झटिलो प्रथाको अन्त्य होस् । भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने भ्रष्टाचार सम्बन्धि छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस । यो जेनजीहरुको माग पनि थियो । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गरियोस् । फागुन २१ गतेको निर्वाचन सम्बन्धमा घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहित शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति सरकारको तर्फबाट वातावरण बनाइयोस् । विदेशमा रहेका मतदाताहरुलाई पनि मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस् । १८ वर्षमा नै निर्वाचनमा उठन पाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।’

त्यसैगरी सो पार्टीले सहकारी ठगहरुलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?