ललितपुर महानगरका सबै संरचना अपाङ्गमैत्री छन् : चिरिबाबु महर्जन

लोकपथ
91
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा निर्माण भएका सबै संरचना अपाङ्गमैत्री रहेको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, पार्क लगायतका संरचनाहरू सबै अपाङ्गमैत्री रहेको जानकारी दिएका हुन् ।

महर्जनले महानगरले बनाएका नीति नियमहरू पनि अपाङ्गमैत्री रहेको बताएका छन् । उनले गत वर्ष ५६२ जना अपाङ्गता भएका व्यक्तिहरूले पाटन दरबार क्षेत्रमा ह्वीलचियरमा बसेर अवलोकन गरेको स्मरण गराए । साथै, ललितपुरले नेपालमा पहिलो पटक अपाङ्गमैत्री ह्वीलचियर गाडी सञ्चालनमा ल्याएको महर्जनले बताए ।

तर, उक्त गाडी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको उनले गुनासो गरे । ‘हामीले बनाएको गाडीमा मेकानिकल लिफ्टिङको व्यवस्था थियो जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज यात्रा गर्न मद्दत गर्ने थियो,’ उनले भने ।

महानगरले अब जलाइएको गाडीको विकल्पमा स्तरीय अपाङ्गमैत्री गाडी खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको छ । त्यस्तै, दुई नयाँ दमकल पनि खरिद गर्ने तयारी भइरहेको महर्जनले जानकारी दिएका छन् ।

यस कदमले ललितपुर महानगरलाई अपाङ्गमैत्री सेवाहरूमा अझ अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?